दोहोरी साँझ खोल्न नदिएको भन्दै व्यवसायीले सिडिओलाई बुझाए चाबी

पोखरा । रात्रीकालीन व्यवसाय सञ्चालनको माग गर्दै पोखराका दोहोरी र रेष्टुरेण्टका सञ्चालकहरुले प्रमुख जिल्ला अधिकारीलाई चाबी बुझाइदिएका छन् । कोरोना महामारीपछि लकडाउन खुकुलो भएर अरु व्यवसायहरु सुरु भइसक्दा समेत रात्रिकालीन व्यवसायमा रोक लगाइएको भन्दै व्यवसायीले विरोध जनाएका हुन् ।

पोखरा दोहोरी साँझ रेष्टुरेण्ट व्यवसायी संघका अध्यक्ष जीवन गुरुङ र महासचिव चोलेन्द्र पौडेलले प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई चाबी हस्तान्तरण गरेका हुन् । गुरुङले अरु व्यापार पूर्ण रुपमा खुले पनि रात्रीकालीन व्यवसाय रोक्दा आफूहरुलाई सकस परेको बताए । ‘सार्वजनिक यातायात, दिवा रेष्टुरेन्ट र अन्य व्यवसाय सञ्चालन भएको छ । प्रशासनले कुनै रोकटाेक गरेको छैन,’ उनले भने, ‘हाम्रो व्यवसायले मात्रै कोरोना फैलाउने होइन नि । व्यवसायीलाई विभेद भयो । हामी पनि खोल्न पाउनुपर्छ ।’

महासचिव पौडेलले सम्पूर्ण क्षेत्रमा कोरोना खोप पुगिसक्दा दोहोरी व्यवसायी छुटेको बताए । ‘अन्ततिर सबैले खोप पाइसके । हाम्रा कर्मचारीहरु छुटेका छन्,’ उनले भने, ‘राज्यले यस्तो खालको विभेद गर्न मिल्दैन । यथाशक्य छिटो खोप दिएर सञ्चालन अनुमति पाउनुपर्छ ।’ प्रमुख जिल्ला अधिकारी गौतमले दोहोरी साँझ रेष्टुरेण्ट व्यवसायीहरुको मर्कालाई सम्बोधन गर्न पहल गर्ने बताए । पर्याप्त खोप नआएकोले व्यवस्थापन मिलाउन गाह्रो परेको उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *