एकीकृत समाजवादी प्रदेश २ सरकारमा सहभागी हुने

जनकपुरधाम । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी प्रदेश २ सरकारमा सहभागी हुने भएको छ । एमालेबाट अलग भएर नेकपा एकीकृत समाजवादी दल दर्ता गरेलगत्तै सो पार्टी प्रदेश २ सरकारमा सहभागी हुने भएको हो ।

प्रदेश २ मा नेकपा एमालेका २१ प्रदेश सांसदमध्ये १३ जना नेपाल पक्षका छन् । पूर्ववत् अवस्थामा एमाले फर्किएपछि माधव पक्षले संसदीय दलको नेताबाट सत्यनारायण मण्डललाई १३ सांसदको बहुमतसहित हटाएर शत्रुधन महतोलाई दलका नेता बनाएको थियो । पार्टी औपचारिक रुपमा विभाजित भएपछि प्रदेश सभामा अहिले पनि माधव पक्ष नै बलियो र एमाले कमजोर अवस्थामा देखिएको छ ।

प्रदेश सांसद महतोले नेकपा एकीकृत समाजवादीका प्रदेश सांसदहरूले प्रदेशसभामा उपस्थित भएर सनाखत गर्ने तयारी भइरहेको बताए । शत्रुधन महतो, गोविन्द बहादुर न्यौपाने, प्रमोद यादव, अशोक यादव, मदन जैन श्रीवास्तव, मञ्जु यादव, बेचु लुंगेली, दिल्ली उप्रेती, रविन्द्र बैठा, खुसिमा खातुन, नागेन्द्र यादव, सुन्दर विश्वकर्मा र सीता गुरुंग समाजवादी पार्टीमा रहेको सो पक्षको दाबी छ ।

दल विभाजनपछि पनि हालसम्म १३ जना प्रदेश सांसद नयाँ दल समाजवादीकै पक्षमा रहेको प्रदेश सांसद महतोले बताए । महतोले भने, ‘एक दुई दिनभित्रै प्रदेशसभामा उपस्थित भएर सनाखत गराउने तयारी गरेका छौँ, त्यो बेलामा संख्यामा केही थपघट हुनसक्नेछ ।’

सनाखतलगत्तै बैठक बसी संसदीय दलको नेता चयन गर्ने र सरकारमा जाने विषयमा निर्णय गर्ने महतोले बताए । यसअघि जसपा नेतृत्वको प्रदेश २ सरकारमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सहभागी भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *