आँसु धरौटी, हाँसो व्यापार

स्वामी विवेकानन्द विदेश भ्रमणमा थिए । स्वागतका लागि मानिसको लाइन लागेको थियो । विदेशीले स्वामीमार्फत् हात फैलाउँदै भने- ‘हेल्लो ।’ स्वामीको उत्तर थियो‚ ‘नमस्ते ।’ स्वामीलाई अंग्रेजी भाषा कठिनाइ भएको सम्झिएर एक शिष्यले हिन्दी भाषामा जिज्ञासा राखे- ‘आप कैसे हैं ?’ स्वामीले मुस्कुराउँदै जवाफ दिए‚‘आईएम फाईन, थ्याङ्क यू ।’ स्वामीको जवाफ दिने शैलीबाट चकित शिष्य सोध्छन्-‘अंग्रेजीमा सोध्दा हिन्दी, हिन्दीमा जिज्ञासा राख्दा अंग्रेजीमा जवाफ दिनुभयो । यसको रहस्य के हो गुरुदेव ?’ शिष्यलाई शान्त पार्दै गुरुले जवाफ दिए- ‘जब तिमीले आफ्नी आमाको सम्मान गर्‍यौ, मैले पनि मेरी आमाको सम्मान गर्नु आफ्नो कर्तव्य सम्झिए । जब तिमीले मेरी आमाको सम्मान गर्‍यौ, मैले पनि तिम्री आमाको सम्मान गरेको हुँ । यसमा अन्यथा लिनुपर्ने अरु कुनै कारण नै छैन ।’

स्कूले ठिटोदेखि विश्वविद्यालय पढेको कुनै नेपाली नागरिकको बायोडाटा हेर्ने हो भने नेपाली भाषापछि लेख्ने, पढ्ने, बुझ्ने भाषाको महलमा हिन्दी उल्लेख भएको हुन्छ । भगवानलाई खुसी पार्ने श्लोक, शंख, घन्ट, तस्वीर उतैबाट आयातीत हुने सबैले बुझेको सत्य हो । हरेक नेपालीले रामायणको अरुण कोविल र दीपिकालाई राम र सीताको स्वरुपमा पूजा गर्छन् । नेपालीले लगाउने सजिलो भित्री वस्त्र गन्जी, कट्टु जुनसुकै मुलुक पुगेपनि भारतमा बनेको बाहेक अरु उत्पादनमा कसैको विश्वास नै छैन । झूम सरावीको रमाइलोमा होस् या टेन्सनको पारो घटाउन हिन्दी गीत गजलको थेरापी नै अन्तिम उपचार हुने गर्छ ।

भारतसँग नजिकिनु कुनै राजनीतिक दल, नेता, शक्तिकेन्द्र या कलासँगको आग्रहपूर्ण मिसावट हुँदै होइन । भारतीयलाई घृणा गरेर अमेरिकीसँगको समीकरण शत प्रतिशत अप्राकृत हुन्छ ।

घरमा कोही बिरामी भए भने औषधोपचार र केबुलको किस्ताबन्दीमध्ये केबुलको पैसा पहिलो प्राथमिकतामा पर्छ । हिन्दी सिरियलका कलाकारलाई १३ दिने परिवार र रगतको साइनोलाई मिथकको पात्र बनाउने पुस्ता समाजमा अझ सशक्त हुँदैछ । हिन्दी च्यानल हेर्न पारिवारिक सन्तुलन मिलाउन नसक्दा एउटै घरमा ४, ५ वटा टेलिभिजन सेट खरिद गर्ने परिवारको संख्या हजारौँ पुग्न सक्छ । केबुल व्यवसायीले हिन्दी टेलिभिजन च्यानलको प्रसारण शुल्क वर्षदिनअघि नै अग्रिम भुक्तान गर्छन्‚ तर नेपाली टीभी च्यानल उल्टो अदालतको तारिख धाएजस्तै धाइरहेका हुन्छन् । टोलमा खाली सिसी‚ पुराना कागज बटुल्नेदेखि साइकलमा तरकारी राखेर बेच्न पुग्ने व्यापारीसँग ‘ब्रोकन हिन्दी’मा कुरा गर्नु आम गृहिणी र बच्चाको सोखजस्तै बनेको छ । वास्तवमा भारत देश नभएर भारतीय सभ्यता र संस्कृतिको नाम हो ।

भारतसँग नजिकिनु कुनै राजनीतिक दल, नेता, शक्तिकेन्द्र या कलासँगको आग्रहपूर्ण मिसावट हुँदै होइन । भारतीयलाई घृणा गरेर अमेरिकीसँगको समीकरण शत प्रतिशत अप्राकृत हुन्छ । एउटा नेपाली र भारतीयको जिब्रोले खोज्ने मिठास एउटै हो । पुज्ने भगवान एकै हुन् । देख्ने सपना उस्तै हो । बाआमाप्रतिको भक्तिभावदेखि पितृकर्मका बाटाहरू समान हुन् । धाम एउटै हो, कामको तौरतरिका उही हो । मानिसको जीवनमा तीन महत्वपूर्ण निर्णायक घडी हुन्छ- जन्म, विवाह र मृत्यु । यसको व्याकरण एउटै हो । यी सत्य जान्दाजान्दै पनि आग्रहको पहाड ठड्याएर कुन स्वाभिमानको धरहरा बनाउँदैछौँ ?

फलाम बाहिरी दबाब र प्रभावमा सकिने होइन । उसको अन्त्य ऊभित्रकै खियामा निर्भर रहन्छ । जब घरभित्रको समस्या मिलाउन छिमेकी गुहार्छौँ भने राष्ट्रिय स्वाभिमानको मृत्यु त्यहाँबाट शुरु हुन्छ । मानिसको जीवनमा सबैभन्दा ठूलो अँधेरी रात भनेको अज्ञान हो । मन, बुद्धि, चिन्ता र अहंकारको सन्तुलन मिलाउन नसक्दा मानिस असफल हुने हो । भारतीय नेतालाई गाली गर्नु कि देवत्वकरण गर्नु नै राष्ट्रप्रेमी नेपाली नागरिक हुनुको कसी अन्तिम सत्य होइन । पाँचपटक प्रधानमन्त्री भएका शेरबहादुर देउवाको थर देउवा भनेर थाहा पाउन जनताले दशकौँ कुर्न पर्‍यो ।

आफ्नै भूगोलमा हाम्रै नेताको नाम थर यति दुर्लभ छ । जापानी भनाइ छ‚ ‘सात पटक खस र आठ पटक उठ ।’ तर हाम्रा हरेक गतिविधि धारेहातमा सीमित हुँदा गुनासाका आयतन खुम्चिनुको साटो बढ्दै गएका छन । हामी दिन प्रतिदिन यस्तो बैंकको खोजीमा हिँडेको ग्राहक भएका छौँ, जहाँ आँसु धरौटी राखेर दुई थोपा खुसी ऋण लिन पाइयोस् । यो संसारमा आजसम्म यस्तो प्लम्बर जन्मिएको छैन, जसले आँखाको डिलबाट झरेको आँसु फेरि आँखामै सार्न सकेको होस् । भारतीयलाई गाली गर्नुअघि त्रियानब्बे रुपैयाँको सामान किनेर सात रुपैयाँको माल बेच्ने आफ्नो औकात हेर्न जरुरी छ ।

माटो खोस्रेर अन्न रोप्न नदिएर खाडीको बाटो रोज्ने पुस्ता नेपालमा जन्माएको कसले ? विकासका नाममा दशकौँ सडक खाल्डो पारेर धुलो, धुवाँमार्फत दीर्घरोग उपहार बाँड्न अरुको कति हात छ ? आफ्नै दाजुभाइसँग दर्ता, चलानी, राजस्व असुल्दा समेत घुस नखाई मसी नचोब्ने कर्मचारीबाट विदेशीले कति प्रतिशत लिन्छन् ?

जात, क्षेत्र, भाषा, भूगोलका नाममा छरिएका सलाईका काँटी बाल्न जति रमाइलो थियो, अब त्यसको व्यवस्थापनको भाउँतोले नेताहरुको ओठ तालु सुकेको छ । त्रिशुल, गाईको फोटो, धनुकाँड, जामा बोकेर संविधानमा अधिकारको सवाल उठाउनु भनेको असभ्यताको पराकाष्टा हो ।

मासुभातमा अनुदान दिएर एउटा स्वस्थ जनशक्ति तयार गर्नुको सट्टा ओखती बाँड्न आतुर हुने नीति निर्माता नेपाली हुन् कि भारतीय ? आमाको गर्भमै सीप बोकेर आएका विश्वकर्मा सन्तानहरूलाई शोषणको नाम दिएर शहरमा लगी भरिया बनाएको कुन राजनीतिक दर्शनले हो ? शायद ती कर्मवीरलाई सन्काएर पथभ्रष्ट नगरिदिएको भए आज शहरमा न श्रेष्ठ टेलरिङ जन्मन्थ्यो, न क्षेत्री बाहुनका छोरीबुहारी बुटिक मालिक भएर देखा पर्थे । रोटीभन्दा भोक जेठो भयो भने बासी रोटी पनि साजी हुन्छ ।

नेपालीको चरित्र त्यो एम्बुलेन्स जस्तो भएको छ, जो दुखीआत्मा लिएर साइरन बजाउँदै सडकमा भड्किरहन्छ । मान्छेहरू आफ्नो प्रगतिका लागि यो भएन, त्यो भएन भन्ने गर्छन्, तर कमल दलदल हिलोकै बीचमा फुल्छ, सफा माटो चाहियो भन्दैन । पिपलले कहिल्यै रूखो चट्टान भनेर गुनासो गर्दैन । त्यसलाई फोरेरै उम्रन्छ । मनैदेखि नआँट्नेहरूले मात्र बहाना देखाउने हुन् । अरुको अग्लाइको हिसाब गर्दागर्दै आफू होचिएको पत्तै नपाउने अवस्था आइसक्यो । मोदीले उत्पादन गरेर पठाएको कोदोको रक्सी धोकेर मोदीलाई गाली गर्दा उनकै आयू थपिने हो ।

मार्टिन लुथर किंग भन्छन्- ‘जहाँ सज्जन जान डराउँछन्, त्यहाँ मूर्खहरुको ठेलमठेल हुन्छ । यदि तिमी उड्न सक्दैनौँ भने दौड, दौडन सक्दैनौ भने हिँड, हिँड्न असमर्थ भयौ भने घस्र । चाहे जे सुकै गर तिमी अघि बढ्नुपर्छ ।’ हो, ओछ्यान लागेका, चार बीस काटेकाहरुमा ‘कुर्सीमेनिया’ छ । विश्वको राजनीतिक ढाँचा कायाकल्प हुँदा एउटै व्यक्ति ढ्याक बनेर उपस्थित छ । सात दशकको अविराम संघर्षपछि प्राप्त संविधान उनीहरुका लागि कपाली तमसुकजस्तो भएको छ ।

राष्ट्रको जीवनमा गरिएको सानो भूल कति घातक हुन्छ भन्ने हेक्का उनीहरूले एकरत्ति राखेका छैनन् । उनीहरूलाई थाहा छैन लाखौँको ज्यान गएको क्रिमियाको युद्ध निम्त्याउने जड एउटा ताल्चा थियो । जेरुसेलमको एक कुनामा रहेको गिर्जाघरको ढोकामा ताल्चा लगाएर साँचो राखेपछि त्यही साँचो खोस्न विभत्स युद्धको बीउ रोपिएको थियो । त्यस्तै फ्रान्सेली क्रान्तिमा राजपरिवार ढल्नुको कारण सम्राट लुई फिलिपका छोरा ड्युक अफ अर्लियन्स बढी मदिरा खाएर लठ्ठ हुनु मानिएको थियो ।

सत्य के हो ? इतिहासकार जानून् । तर आवश्यकताका नाममा एक पेट अन्नभन्दा माथिको सपना नदेखेका नेपालीका लागि राजनीतिको अनावश्यक प्रयोग किन हुन्छ ? बुझिनसक्नु छ ।

जात, क्षेत्र, भाषा, भूगोलका नाममा छरिएका सलाईका काँटी बाल्न जति रमाइलो थियो, अब त्यसको व्यवस्थापनको भाउँतोले नेताहरुको ओठ तालु सुकेको छ । अहिले देखाइएका समस्या खास समस्या नभएर त्यसप्रति अन्त्यहीन सीमा र अन्तरीक्षमा झण्डा गाड्नु नभएर चेतन मानव मस्तिष्कको युग हो । त्रिशुल, गाईको फोटो, धनुकाँड, जामा बोकेर संविधानमा अधिकारको सवाल उठाउनु भनेको असभ्यताको पराकाष्टा हो ।

धर्म, संस्कृति भनेको व्यक्तिभित्रको सन्तुलन हो । आत्मानुशान हो । यो खैँजडी बनाउने विषय होइन । हिमाली भेगका जनता तराईमा जन्मेका बुद्धका अनुयायी छन् । तराईबासी हिमालय पर्वतमा विराजमान महादेवको पूजा आराधना गर्छन् । प्रकृतिले मिलाएको सन्तुलन बिगार्न खोज्नेहरू आफैँ खरानी हुने निश्चित छ ।

सत्य के हो ? इतिहासकार जानून् । तर आवश्यकताका नाममा एक पेट अन्नभन्दा माथिको सपना नदेखेका नेपालीका लागि राजनीतिको अनावश्यक प्रयोग किन हुन्छ ? बुझिनसक्नु छ । यो यही देश हो, जहाँ सात सालदेखि संविधानसभाको दुन्दुभि बजाइयो । यसै नाममा हजारौँ मान्छे मारिए । नभन्दै त्यो घडी पनि आयो । तर अपेक्षा गरिएअनुसार त्यसले समाजको प्रदूषण छान्न सकेन फलस्वरुप राजनीति धोका शिवाय केही ठहरिएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

kite