महाकवि देवकोटाको सालिक तोडफोड

झापा । भद्रपुरमा अढाई दशकअघि स्थापित महाकवि लक्ष्मीप्रसाद देवकोटाको अर्धकदको सालिक तोडफोड भएको छ । आइतबार राति अज्ञात समूहले सालिक तोडफोड गरेको देवकोटा स्मारक संरक्षण समितिका सचिव राजु बरालले बताए ।

सालिकको शिर छेदन गरी भुइँमा लडाइएको अवस्थामा सोमबार भेटिएको उनले बताए । भद्रपुर नगरपालिका-९ स्थित प्रकाशपुरमा २०५१ सालमा स्थानीय साहित्यप्रेमीहरूले सालिक स्थापना गरेका थिए । पूर्वपश्चिम राजमार्गको चारआलीबाट झापा सदरमुकाम चन्द्रगढी जोड्ने मेची सहायक राजमार्गको बीचमा सालिक रहेको थियो ।

सालिक तोडफोड घटनाप्रति देवकोटा स्मारक संरक्षण समितिले खेद व्यक्त गरेको र दोषी पत्ता लगाएर कडा कानुनी कारबाही गरिदिन प्रहरीमा अनुरोध गरिएको बरालले बताए । घटनाका विषयमा अनुसन्धान भइरहेको जनाउँदै जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले तोडफोड गर्नेहरूको खोजतलास भइरहेको बताए । ‘सालिक भएको स्थान वरपरका बासिन्दासँग सोधपुछ गरिरहेका छौँ । पहिले पनि तोडफोडको प्रयास भएको भन्ने सुनेका छौँ, समितिका पदाधिकारीहरूबाट पनि जानकारी लिइरहेका छौँ,’ उनले भने ।

सालिक तोडफोड भएकामा साहित्यकारहरूले विरोध प्रकट गरेका छन् । साहित्यकार पुण्यप्रसाद खरेलले तोडफोड निन्दनीय कार्य भएको जनाउँदै राष्ट्रिय विभूतिको सालिकमाथिको आक्रमणमा संलग्नमाथि कडा कारबाहीको माग गरेका छन् । केही वर्षअघि पूर्वीद्वार काँकडभिट्टामा पनि यसरी नै देवकोटाको सालिक तोडफोड हुने गरेको स्मरण गराउँदै साहित्यकार खरेलले अपराधीको खोजी गरेर दण्डित गर्न माग गरेका छन् । -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *