एसपीकै फेक अकाउन्ट बनाएर पैसा मागेपछि…

जनकपुरधाम । सामाजिक सञ्जालमार्फत मानिस ठगिने गरेका समाचारहरू सार्वजनिक भइरहेका हुन्छन् । सामाजिक सञ्जालमार्फत् सम्बन्ध र सम्पर्क बढाएर रकम असुल्नेदेखि प्रेमजालमा फसाउनेलगायतका समाचारहरु समय-समयमा सुनिन्छ ।

धनुषामा भने उच्च प्रहरी अधिकारीकै नाममा नक्कली फेसबुक अकाउन्ट बनाई रकम माग्ने काम भइरहेको पाइएको छ । धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटकै नाममा नक्कली फेसबुक अकाउन्ट बनाएर विभिन्न व्यक्तिसँग पैसा माग्ने गरेको पाइएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रानाभाटको नक्कली फेसबुक अकाउन्ट बनाएर ‘गूगल पे’मार्फत पैसा माग्ने गरिएको हो ।

No description available.

प्रहरी उपरीक्षक रानाभाटले आफ्नो आधिकारिक फेसबुकमा लेखेका छन्, ‘कसैले मेरो नाममा नक्कली फेसबुक आइडी खोलेका छन् र मेरा साथीहरूसँग पैसा माग्दैछन् भन्नेबारे मेरा फेसबुकका साथीहरूले मलाई सूचित गरे । म मेरा सबै साथीहरूलाई अनुरोध गर्न चाहन्छु कि यो म होइन र यो धोका दिनेको बारेमा सजग रहनुहोस् तथा पैसा नदिनुहोस् ।’

एसपी रानाभाटको नाममा बनाइएको फेक अकाउन्टबाट धेरै जनालाई फ्रेन्ड रिक्वेस्टसमेत पठाएको पाइएको छ । विभिन्न बहाना बनाएर आफ्नो नामबाट पैसा माग्ने गरिएको उनले बताए ।

No description available.

पछिल्लो समय सामाजिक सञ्जालमार्फत् हुने ठगी धन्दा बढ्दै गइरहेको र विभिन्न जालझेल, प्रलोभन तथा भ्रममा पारेर नक्कली प्रयोगकर्तालाई ठग्ने प्रवृत्ति मौलाउन थालेको हो ।

No description available.

यसप्रकारका घटनामा साइबर अपराध नियमनका लागि विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कारबाही हुने व्यवस्था रहेको छ । सो ऐनको दफा ४७ अनुसार कम्प्युटर, इन्टरनेटलगायत विद्युतीय सञ्चारमाध्यममा नैतिकता, शिष्टाचारविरुद्धका सामग्री, कसैप्रति घृणा वा द्वेष फैलाउने सामग्री प्रकाशन वा प्रदर्शन गरे दोषीलाई एक लाख जरिवाना वा पाँच वर्षसम्म कैद अथवा दुवै सजाय हुनसक्ने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *