महँगो होटलमा एकीकृत समाजवादीका सांसद

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले १० जना सांसदलाई विराटनगरमा रहेको बिग होटलमा राखेको छ । मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएकै दिन बिग होटलमा बैठक बसेको नेकपा एसले अहिले सोही होटलमा सांसदलाई राखेको हो ।

भर्खरै गठन भएको आचार्य नेतृत्वको सरकार ढाल्ने योजनासहित गोप्य रुपमा सांसदलाई राखिएको छ । बैठकका लागि भन्दै सबै सांसदलाई होटलमा नै राखिएको नेकपा एस निकट स्रोतको दाबी छ । नेकपा समाजवादीबाट मुख्यमन्त्री प्रस्ताव गरिएका राजेन्द्र राई होटलका तीनवटा ‘सुइट डिलक्स रुम’मध्ये ३१४ नम्बरको कोठा लिएर बसेका छन् । सोही कोठाको अगाडिको मिनि हलमा नियमित सांसदहरुका बिचमा छलफल हुने गरेको हो ।

राईले प्रयोग गरेको उक्त कोठाको मूल्य ११ हजार ५ सय पर्ने भएको होटल श्रोत बताउँछ । होटलमा सांसदलाई बसाउनका लागि ९ वटा कोठा बुक गरिएको स्रोतको दाबी छ । प्रतिकोठा दैनिक ४ हजार रुपैयाँ तिर्ने गरी कोठा लिइएको हो । बाहिर रहे सांसदलाई एमालेका नेताले आफ्नो पक्षमा पार्ने ठानेर होटलमा नै राखिएको निकट श्रोत बताउँछ । विराटनगरमा घर भएका सांसदहरु पनि कोठामा बस्दै आएको एक नेताले बताए ।

होटलमा राजेन्द्र राईसहित उदयपुरकी सांसद सुनिता कुमारी चौधरी, खोटाङका राजन राई निरन्तर त्यही होटलमा बस्दै आएका छन् । मोरङका सांसदहरु उपेन्द्र कुमार घिमिरे, कृष्ण कुमारी राई, सावित्रीकुमारी रेग्मी, पाँचथरका गणेश काम्बाङ, इलामकी खिनु लङ्वा लिम्बु पनि आइतबार राति होटलमै बसेको एक सांसदले बताए । नेकपा एकिकृत समाजवादीका नेताहरु घनेन्द्र बस्नेत र महेश रेग्मी लगायतको दैनिक बैठकमा उपस्थिति हुने गरेको श्रोत बताउँछ ।

होटलमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोसहितका सांसदहरु समेत बसेको बताइन्छ । स्रोतका अनुसार बैठकमा नेकपा समाजवादी र माओवादी केन्द्रका नेताहरुबीच पटक-पटक छलफल भइरहेको जनाइएको छ । शनिबार कांग्रेससँग पनि सोही होटलमा कुराकानी भएको थियो । मुख्यमन्त्रीको दाबी गरेका राजेन्द्र राईले भने सांसदलाई कुनै बाध्यताका बिच होटलमा नराखिएको बताएका छन् । बैठकमा आउने जाने गरिए पनि होटल भित्रै बस्नु पर्ने बाध्यतामा नपारिएको उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *