प्रदेश २ : एकीकृत समाजवादीलाई सरकारमा ल्याउने तयारी

जनकपुरधाम । प्रदेश २ मा हाल गठबन्धनको सरकार छ । जनता समाजवादी पार्टी (जसपा), नेपाली कांग्रेस र माओवादी केन्द्र सम्मिलित गठबन्धनको सरकार छ ।

माओवादी र कांग्रेसलाई सरकारमा सहभागी गराउन मुख्यमन्त्री लालबाबु राउतले यसअघि ६ वटा मन्त्रालय रहेकोमा टुक्र्याएर १० वटा बनाएका थिए । जसमध्ये जसपाका चार, कांग्रेसका तीन र माओवादीका एक मन्त्री छन् । बाँकी दुई मन्त्रालय मुख्यमन्त्री राउतले अहिले आफ्नै मातहतमा राखेका छन् ।

माओवादी र कांग्रेसलाई सरकारमा सहभागी गराउन मुख्यमन्त्री राउतले जसपामै रहेका बेला महन्थ ठाकुर समूहका एक मन्त्री तथा तीन राज्यमन्त्रीलाई बर्खास्त गरेका थिए भने आफ्नै समूहका एक मन्त्री र एक राज्यमन्त्रीलाई राजीनामा गर्न लगाएका थिए ।

हाल वाणिज्य, आपूर्ति तथा विज्ञान प्रविधि र कानुन, न्याय तथा प्रदेश सभा मामिला मन्त्रालय मुख्यमन्त्री राउतले आफ्नो मातहतमा राखेका हुन् ।

रिक्त मन्त्रालयहरूमा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीलाई सरकारमा ल्याउन मुख्यमन्त्री राउतले कसरत गरिरहेको मुख्यमन्त्री निकट स्रोतले बताएको छ । साना मन्त्रालय लिएर एकीकृत समाजवादी सरकारमा सहभागी हुन नमानेकाले जसपाको भागमा रहेको केही मन्त्रालय खाली गराई उनीहरूलाई सरकारमा सहभागी गराउन सकिने सम्भावना रहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *