प्रदेश नं. १

आचार्यलाई विश्वासको मत पाउन कठिन, अर्को सरकार गठनको कसरत शुरु

विराटनगर । शुक्रबार दिउँसो ३ बजे बिराटनगरको होटल बिगमा एउटा बैठक चल्दै थियो । त्यही समय होटल एसियाटिकमा निवर्तमान मुख्यमन्त्री शेरधन राईको पत्रकार सम्मेलन थियो । उता प्रदेश प्रमुखको कार्यालयमा भने मन्त्रीहरुको शपथग्रहणको तयारी थियो । नेकपा (एमाले) विभाजनको असरमा देखिएका यी गतिविधि हेर्नलायक थिए । बिग होटलमा नेकपा (एकीकृत समाजवादी) ले १० जना प्रदेश सभा सांसद लिएर बैठक बस्दै गर्दा प्रदेश प्रमुखको कार्यालयमा एकीकृत समाजवादीमा गनिएका दुईजना सांसदले मन्त्रीको शपथ लिँदै थिए ।

अघिल्लो दिन मुख्यमन्त्री बनेका भीम आचार्यले एमाले छाडेर नजाने भएपछि बलबहादुर साम्सुहाङलाई सामाजिक विकास र लछुमन तिवारीलाई उद्योग पर्यटन वन ततथा वातावरण मन्त्री बनाएका थिए । त्यही दिन अन्य दुईजना मन्त्रीलाई पनि शपथ गराउने भनिएको थियो । तर, आन्तरिक किचलोका कारण अन्य मन्त्रीको शपथ हुन सकेन ।

उदयपुरकी सांसद सुनिताकुमारी चौधरीले मन्त्री दिँदा पनि नयाँ दलमै रहने बताइन् । ‘मलाई मन्त्री खानु छैन,’ चौधरीले भनिन्, ‘विचार गौण भएको कारण नेकपा (एकीकृत समाजवादी) मा लागेको हुँ । यदि म मन्त्री खाने थिएँ भने हिजै मैले शपथ लिइसकको हुन्थेँ ।’

शपथ लिएकै समयमा एकीकृत समाजवादीको बैठकमा उनीसहित सांसदहरु राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ र सरिता थापा उपस्थित थिए । बैठकमा छलफल भएपनि कुनै निर्णय भने नभएको बैठकमा सहभागी एक सांसदले बताए । ‘हामीलाई होटलमा बोलाइएको थियो । १० जना जम्मा भएका थियौँ, हामीले हाम्रा कुरा राख्यौँ,’ उनले भने, ‘छलफल भयो निर्णय भने केही भएको छैन ।’

शुक्रबार दिउँसो भएको छलफलका आधारमा पार्टी विभाजन र दल छनौटको बारेमा मंगलबार निर्वाचन आयोग र प्रदेश सभा सचिवालयलाई जानकारी गराउने तयारी भएको बैठकमा सहभागी सांसदले बताए । बैठकपछि निर्वाचन आयोगमा मंगलबार समाजवादी दल रोजेको पत्र दिने निर्णय भएको सांसद राजेन्द्र राईले बताए । सत्ताको जोडघटाउ प्रदेश सभामा अहिले प्रतिनिधित्व गर्ने नेकपा एमालेका ५१ जना हुन् । नेकपा एमालेको विभाजनसँगै अब त्यो संख्या घटेर तल झर्ने छ । एमालेभित्रका नेता तथा सांसदले गरेको अड्कलअनुसार चारजना सांसदले मात्र एमाले छाडेर एकीकृत समाजवादीमा जाने तयारी गरेका छन् । तर उनीहरुको यो अड्कल र दाबी शुक्रबार बसको बैठकले नै गलत साबित गरिसकेको छ ।

यदि बीचमा कुनै चलखेल नहुँदा पार्टीभित्रको बैठकमा गएको र सहभागी भएको हैसियतले अब नेकपा एमाले एकीकृत समाजवादीमा लाग्ने प्रदेश सांसदको संख्या १० देखिन्छ । अहिलेसम्म दल छान्ने निर्णय निर्वाचन आयोगमा नगएको तथा प्रदेश सभामा त्यसको जानकारी नगएको कारण कति सांसद भन्ने यकिन भने भएको छैन । नेकपा एकीकृत समाजवादीमा १० जनालाई नै आधार मान्ने हो भने भदौ १० गते बनेका मुख्यमन्त्री आचार्यको सरकार एक महिना भन्दा नटिक्ने प्रतिपक्षीको आँकलन छ । प्रतिपक्षीले यो सरकारलाई असंवैधानिक भनिसकेको छ ।

कुरा रह्यो गणीतिय जोड घटाउको । यसको केन्द्रमा छ एमालेमा रहने सांसद वा समाजवादीमा जाने सांसदको संख्या कति हुन्छ भन्ने ।  एमालेभित्र ५१ जनामध्ये १० जना बाहिरिँदा ४१ जना सांसद हुनेछन् । विश्वासको मत पाउन ४७ जना सांसदको बहुमत चाहिन्छ । ४१ जना लिएर अघि बढ्दा एमालेले ६ जना सांसद अन्यत्रबाट तान्नुपर्ने हुन्छ । अन्य दलसँगको समीकरण तत्काल देखिँदैन । प्रदेश सभामा रहेका संघीय समाजवादीका ३ जना, राप्रपा र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको एक एकजना हुँदा पनि ४६ जना मात्र पुग्ने देखिन्छ । तर, जसपाले एमालेको सरकारसँग गठबन्धन गर्ने सम्भावना छैन । केन्द्रको गठबन्धन तोडेर जसपाले सघाए पनि र अन्य साना २ दलले सघाउँदा पनि एकजना सांसदको थप समर्थन आवश्यक पर्छ । त्यो सम्भावना अति कम मात्र छ । त्यस्तो अवस्थामा अहिलेको मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत पाउने सम्भावना हुँदैन ।

दोश्रो विकल्प भनेको प्रदेश नं. १ मा रहेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस नेतृत्वका सरकार बनाउने । आचार्यले विश्वासको मत नपाएको अबस्थामा दोश्रो ठूलो दलको रुपमा कांग्रेस संसदीय दलका नेता राजीव कोइराला मुख्यमन्त्रीको दाबीमा देखिन्छन् । यसका लागि कांग्रेसका २१ जना सांसदसहित नेकपा (माओवादी केन्द्र) का १५ जना, नेकपा (एकीकृत समाजवादी) का बढीमा १० जना र संघीय समाजवादीका तीन जनाले समर्थन गर्दा संख्या ४९ पुग्छ । यो अवस्थामा साना दललाई साथ नलिँदा पनि सहजै गठबन्धनको सरकार बन्न सक्ने देखिन्छ । त
र गठबन्धनभित्र पनि कसलाई मुख्यमन्त्री बनाउने भन्ने कलह शुरु भएको छ । नेकपा (एकीकृत समाजवादी) आफ्नो नेतृत्वमा सरकार बन्ने दाबी गर्दै आएको छ । केन्द्रीय सदस्य समेत रहेका नेता राजेन्द्र राई आफू मुख्यमन्त्री बन्ने दाबी गर्दै आएका छन् । केन्द्रको निर्णयअनुसार आफ्नो नेतृत्वमा सरकार बन्ने दाबी उनको छ ।

नेपाली कांग्रेस केन्द्रको निर्णय भएपनि प्रदेशको अवस्थालाई आधार बन्नुपर्ने बताउँदै आएको छ । नेपाली कांग्रेस संसदीय दलको नेता राजीव कोईराला केन्द्रको निर्णय बारेमा थाहा नभएकोले प्रदेश सभामा सांसद संख्या र यहाँको अवस्थालाई आधार मान्दा कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने दाबी गर्दै आएका छन् । मुख्यमन्त्रीमा आफ्नो दाबी रहँदै आएको उनको भनाइ छ । दुई दलबीच सहमति हुन नसकेमा १५ जना सांसद लिएर बसेको नेकपा माओवादी केन्द्र पनि पाइहाले मुख्यमन्त्री आफ्नो हातमा पार्ने दाउमा छ ।

यसअघि मन्त्री भइसकेका नेकपा माओवादी केन्द्र संसदीय दलका नेता ईन्द्र आङ्बो पनि मुख्यमन्त्री पाए नछाड्ने अवस्थामा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *