इङ्ल्यान्डसँग सम्हालिँदै भारत

काठमाडौं । इङ्ल्यान्डसँगको शृंखलाको तेश्रो टेस्ट्को दोस्रो इनिङमा भारतले संयमित ब्याटीङ गरेको छ । तेस्रो दिनको खेल सकिँदा भारत दोस्रो इनिङमा २ विकेट गुमाएर २१५ रन बनाएको अवस्थामा छ । कप्तान विराट कोहली ४५ तथा चेतेश्वर पुजारा ९१ रनमा नटआउट छन् ।
त्यसअघि ओपनर रोहित शर्माले ५९ रन बनाए । कोहली र पुजाराबीच तेस्रो विकेटका लागि ९९ रनको अजीवित साझेदारी भइसकेको छ । भारत अझै १३९ रनले पछि छ । पहिलो इनिङमा भारत ७८ रनमा अलआउट भएको थियो । जवाफमा इङ्ल्यान्डले कप्तान जो रुटको शतक तथा अन्य सुरुवाती तीन ब्याट्सम्यानको अर्धशतक मद्दतमा ४३२ रन बनाउँदै ३५४ रनको अग्रता लिएको थियो ।
पुजारा १९औं टेस्ट् शतकको नजिकै पुगेका छन् । उनले थप ९ रन जोड्न सके ३१ महिनापछि उनले शतक प्रहार गर्नेछन् । यसअघि २०१९ मा अष्ट्रेलियासँग शतक प्रहार गरेयता उनी शतकविहीन छन् । यस्तै कप्तान विराट कोहली पनि २६औं अर्धशतक नजिक छन् ।
पुजाराले भने टेस्ट् करिअरको ३०औं अर्धशतक प्रहार गरे । पुजाराको अर्धशतक १२ इनिङ पछि सम्भव भयो । यसअघि इङ्ल्यान्डसँग नै गत फेब्रुअरीमा उनले अर्धशतक बनाएका थिए । पुजाराले ९१ बलमा अर्धशतक पूरा गरेका थिए । जुन उनको एसियाबाहिर पहिलो छिटो अर्धशतक हो ।
त्यसअघि रोहित शर्माले करिअरको १४औं अर्धशतक प्रहार गरे । उनी ५९ रनको अवस्थामा आउट भएका थिए । रोहितले पुजरासँग मिलेर ८२ रनको शाझेदारी गरेका थिए ।








