अनौठो मौसम

वर्तिर घाम चर्कने, पर्तिर पानी दर्कने !

काठमाडाैँ । वर्षा याममा पानी पर्नु सामान्य कुरा हो । वर्षाका बेला कालो बादल उड्दै र मेघ गर्जँदै पानी पर्ने गर्छ । उसो त पानी सधैँ वर्षा याममा मात्र पर्छ भन्ने हुँदैन । अरु बेला पनि पानी पर्छ । तर सामान्यतया वर्षा याममा भन्दा कम ।

पानी पर्ने क्रममा कहिलेकाहीँ रमाइलो अवस्था देख्न पाइन्छ । नजिकै पानी दर्किरहेको हुन्छ । नजिकै घाम चरक्क चर्किरहेको हुन्छ । काठमाडौँमा यस्तो अवस्था धेरै देख्न र भोग्न पाइन्छ । त्यही भएर एक ठाउँमा पानी परेर रेनकोट ओढेर मोटरसाइकलमा हिँडिरहेका मानिस अर्को ठाउँमा पुग्दा घाम झलमल्ल लागिरहेको हुन्छ । जसले गर्दा ‘घाम लागेको बेला पनि रेन कोट ओडेको’ जस्तो अवस्था सामना गर्नुपर्छ । यस्तो किन हुन्छ त ? मौसमविद् भन्छन्- ‘यस्तो हुनुलाई प्राविधिक भाषामा खण्डवृष्टि भनिन्छ । अर्थात् नजिकैको भूखण्डमा पानी पर्दा पनि नजिकैको भूखण्डमा पानी नपर्ने ।’

स्थानीय वायुका कारण यस्तो हुने मौसमविद् बताउँछन् । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले भने, ‘पहिले प्रि–मनसुनको समयमा मात्र खण्डवृष्टि हुने गर्थ्यो । तर अहिले उपत्यकाको धेरै भागमा कतै पानी पर्दा कतै झलमल्ल घाम लागिरहेको हुन्छ । यसको प्रमुख कारण स्थानीय वायु हो । स्थानीय वायुले बनाएको बादल धेरै ठाउँमा फैलिएको हुँदैन । त्यसैले वर्षा हुँदा थोरै क्षेत्रमा मात्रै वर्षा हुन्छ । पहिले स्थानीय वायुले बनाउने बादलले धेरै क्षेत्र ढाक्दा उपत्यकाका सबै क्षेत्रमा एकै पटक पानी पर्थ्यो ।’

मौसम पूर्वानुमान महाशाखाका अनुसार ललितपुरको गोदावरी क्षेत्र धेरैजसो बादलले ढाकेको हुन्छ । त्यहाँ पानी पर्दा उपत्यकाका अन्य ठाउँमा भने घाम लागिरहेको हुन्छ । यस्तै काठमाडौँको तारेकेश्वर पूर्वी भागमा कम वर्षा हुन्छ भने पश्चिममा धेरै पानी परिरहेको हुन्छ ।

यसका लागि वायुको न्यून चापीय रेखा कता परेको छ भन्ने कुराले पनि अर्थ राख्ने मौसमविद् अर्याल बताउँछन् । तर, पछिल्लो समय जलवायु परिवर्तनले पनि पानी पर्ने प्रक्रियामा असर पार्न थालेको छ । ‘जलवायु परिवर्तनको प्रभाव नेपालमा पनि देखिएको छ’, मौसमविद् अर्यालले भने, ‘त्यसैले उपत्यकामा पनि अनौठाे तरिकाले पानी परिरहेको हुन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *