स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आज आयुर्वेद चिकित्सालय नरदेवीको अनुगमन तथा निरीक्षण गरेकी छन् । मन्त्री मेहताले चिकित्सालय र चिकित्सालयले सञ्चालन गरेको वैद्यखानाको पनि अनुगमन तथा निरीक्षण गरेकी छन् ।
अनुगमनका क्रममा उनले आयुर्वेद औषधिको उत्पादन बढाउन, स्वदेशी जडीबुटीको उपयोग विस्तार गर्न र आयातमा निर्भरता घटाउनुपर्नेमा जोड दिइन् । मन्त्री मेहताले चिकित्सालयबाट प्रदान हुँदै आएको उपचार, योग तथा प्राकृतिक चिकित्सा सेवा, औषधि उत्पादन, भण्डारण, प्रयोगशाला, जनशक्ति व्यवस्थापन तथा सेवा प्रवाहको अवस्थाबारे जानकारीसमेत लिएकी थिइन् ।
मन्त्री मेहताले वैद्यखानाले नेपालमै उपलब्ध जडीबुटीको वैज्ञानिक उपयोग गरी आफ्नै आयुर्वेदिक औषधिको उत्पादन विस्तार गर्नुपर्ने उल्लेख गरिन् । उनले उत्पादन क्षमता बढाएर सरकारी स्वास्थ्य संस्थामा आवश्यक औषधिको नियमित आपूर्ति सुनिश्चित गर्नुपर्ने बताइत् ।
उनले नेपालमा प्रशस्त मात्रामा पाइने जडीबुटीको वैज्ञानिक उपयोग, प्रशोधन र उत्पादनमार्फत स्वदेशी आयुर्वेद औषधिलाई प्रवर्द्धन गर्न सकिने उल्लेख गर्दै त्यसका लागि मन्त्रालयले आवश्यक नीतिगत तथा संस्थागत सहयोग गर्न प्रतिबद्ध रहेको बताइन् । चिकित्सालयका निमित्त निर्देशक डा रामकामेश्वर ठाकुरका अनुसार दैनिक तीन सय भन्दा बढी बिरामी उपचार गर्न आउने गरेका छन् ।








