निर्वाचन आयोग र सभामुखविरुद्ध अदालत जान ‘कागजात’ तयार गर्दै एमाले

आइतबारसम्ममा अदालत जाने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध अदालत जाने तयारी गरिरहेको छ । दल दर्ताका क्रममा निर्वाचन आयोगले विवादास्पद निर्णय गरेको र सभामुखले पार्टीको निर्णयबमोजिम १४ सांसदलाई कारबाही नगरेको भन्दै आयोग र सभामुखविरुद्ध एमाले अदालत जाने भएको हो । ‘पार्टीको केन्द्रीय कमिटीले गरेको निर्णयबमोजिम कानूनी उपचार खोज्ने तयारीमा छौँ अर्थात् अदालत जाने तयारी गर्दैछौँ,’ नेता सुवासचन्द्र नेम्वाङ्गले भने, ‘मिसिल तयारी हुँदैछ । २/३ दिनभित्र जान्छौँ ।’

पार्टीको केन्द्रीय कमिटी बैठकले कारबाही गरेको सांसदहरुको सनाखतलाई समेत मान्यता दिएर आयोगले नयाँ पार्टी दर्ताको प्रमाणपत्र दिएको ठहर गर्दै एमालेको बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले त्यसविरुद्ध कानूनी उपाचार खोज्ने निर्णय गरेको थियो । सोहीअनुरूप आफूहरु तयारीमा जुटेको नेम्वाङ्गको भनाइ छ ।

एमाले कार्यालय सचिवसमेत रहेका केन्द्रीय सदस्य शेरबहादुर तामाङ ढिलोमा आइतबारसम्ममा अदालत जाने बताउँछन् । ‘त्यसको आवश्यक तयारी हुँदैछ,’ नेता तामाङले भने, ‘केन्द्रीय कमिटी बैठकले गरेको निर्णयअनुसार तयारीमा जुटिएको हो । सम्भवतः आइतबारसम्ममा अदालत जान्छौँ ।’

कानून व्यवसायीहरुसँग आवश्यक छलफल भइरहेको तामाङको भनाइ छ । ‘कानूनका जानकारहरुसँग कुराकानी भइरहेको छ । प्रक्रिया पूरा गरेर आइतबारसम्ममा हामी जान्छौँ,’ तामाङले भनेका छन् ।

एमाले विभाजन गरेर छुट्टै दर्ता दर्ताको प्रक्रियामा लागेका माधवकुमार नेपालसहितका १४ जना सांसदलाई पदमुक्तको निर्णय गरेको थियो । सभामुखले उक्त एमाले निर्णय कार्यान्वयन गरेका थिएनन् भने आयोगले तिनै कारबाहीमा परेका नेताहरुको सनाखतलाई मान्यता दिएर दल दर्ता गरेको थियो । एमालेले कारबाही गरेको १४ सांसदसहित ३० सांसदको सनाखतलाई मान्यता दिएर आयोगले पूर्वाग्रह देखाएको हिजो बसेको एमालेको केन्द्रीय कमिटीले ठहर गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *