सधैँ बिरामी मनिपालबाट भारतीय कम्पनीले हात झिक्यो, सवा ३ अर्बमा बिक्री

पोखरा । कर्मचारी-व्यवस्थापनबीच हरेक वर्ष तनाव हुन्छ । श्रम ऐन अनुसार सुविधा नदिएको गुनासोसहित कर्मचारीहरु सधैँ आन्दोलन गर्छन् । त्यतिमात्रै होइन, विद्यार्थीहरुको आन्दोलन पनि थपिन्छ, तोकिएको भन्दा बढी शुल्क लिएको आरोपमा । दुईपक्षबीचको किचलोले सधैँजसो बिरामी छ, पोखराको मनिपाल शिक्षण अस्पताल ।

सुविधाका हिसावले यो अस्पताल गण्डकी प्रदेशकै उत्कृष्ट छ । तर उपचार सेवा भने खासै राम्रो छैन । कर्मचारी र अस्पताल प्रशासनबीच एकअर्कालाई आरोप प्रत्यारोप लगाउँदैमा लामो समय बितिसकेको छ । सन् १९९० देखि पोखरामा मनिपाल शिक्षण अस्पताल सञ्चालनको प्रक्रिया सुरु भएको हो । त्यसपछि १९९२ मा नेपाल सरकारसँग सम्झौता गरेर शिक्षण अस्पताल सञ्चालनको थप कार्यक्रम अघि बढ्यो । १९९४ देखि एमबिबिएस पढाईसहित भित्रिएको मनिपाल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पछिको सबैभन्दा ठूलो र धेरै उपकरण भएको अस्पताल हो ।

यहाँ नेपालसहित, भारत, बंगलादेश, श्रीलंका लगायतका देशबाट विद्यार्थीहरु एमबिबिएस अध्ययनका लागि आउने गर्छन् । अस्पतालमा हाल ननटिचिङतर्फ ६ सय ३० कर्मचारी कार्यरत छन् । सधैँ समस्याबाट गुज्रिएको अस्पतालबाट भारतीय कम्पनीले हात झिकेको छ । पोखराकै व्यापारिक घराना बतास अर्गनाईजेसन र अर्को व्यवसायिक कम्पनी अटोवेजले मनिपाल खरिद गरेका हुन् ।

३ अर्व २२ करोड रुपैयाँमा अस्पताल किनेको अटोवेजका नारायण पौडेलले पुष्टी गरे । ‘पहिलो हस्ताक्षर भैसक्यो । अर्को हस्ताक्षर भोलि ९शुक्रबार० काठमाडौंमा हुन्छ,’ उनले भने, ‘त्यसपछि पूर्ण रुपमा मनिपाल नयाँ कम्पनीको स्वामित्वमा रहन्छ ।’ अस्पताल खरिदसँगै सबै दायित्व आफूहरुसँग रहने पौडेलले बताए । ‘उसको ऋण र नाफा सबै दायित्व सर्छ । सरकारलाई तिर्नुपर्ने पैसा हामी नै तिर्छौं,’ पौडेल भन्छन्, ‘कमसेकम पोखरा र गण्डकी क्षेत्रका विरामी स्तरीय सेवा लिन काठमाडौं जान नपर्ने गरि सन्चालन गर्छौं ।’

अस्पतालले भवन निर्माणको नक्सापास र सम्पत्ति कर बापतको करिव २८ करोड रुपैयाँ पोखरा महानगरापलिकालाई तिर्नुपर्ने छ । हरेक वर्ष महालेखा परीक्षकको प्रतिवेदनले राजश्व असुली गर्न निर्देशन दिन्छ । तर पोखराले उठाउन सकेको थिएन । अहिले पनि २१ करोड नक्सापास र बाँकी ७ करोड सम्पत्ति कर वापत तिर्नुपर्ने उल्लेख गरेको छ । अन्य क्षेत्रमा पनि रहेको दायित्व सहित ९७ करोड तिर्न बाँकी रहेको बताइएको छ ।

यसमा बतासको ६० प्रतिशत र अटोवेजको ४० प्रतिशत लगानी हुने छ । अस्पताल ५० वर्षका लागि मनिपालले स्वीकृति लिएको थियो । अब मुस्किलले २५ वर्ष बाँकी छ । त्यसपछि सबै संरचना नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्छ । सम्झौता अवधी नसकिँदै भारतीय कम्पनीले हात झिकेको हो । ४० रोपनी क्षेत्रफलमा फैलिएको मणिपालले थप १ सय रोपनी जग्गा लिजमा लिएको छ । त्यहाँ १ सय विद्यार्थी एमविविएस पढ्छन् । अस्पताल ९ सय शैय्याको अनुमति लिएर चलेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *