‘धेरै गर्न सकिनँ होला‚ तर मैले गलत गरेको छैन’

विराटनगर । प्रदेश १ का निवर्तमान मुख्यमन्त्री शेरधन राईले आफ्नो कार्यकालमा धेरै गर्न नसकेपनि नराम्रो नगरेको प्रतिक्रिया दिएका छन् । आफ्नो फेसबुक पेजमार्फत् आफ्ना भनाइ सार्वजनिक गर्दै राईले संघीयताको पहिलो अनुभव, अभ्यास र प्रयोगका सुरुवाती दिनहरू, शुरुवाती वर्षहरू सजिला नभएको उल्लेख गरेका छन् ।

‘शुरुवाती दिनहरू‚ वर्षहरू सजिला थिएनन्‚ तर हामी दृढ संकल्प र अठोटसहित महत्वपूर्ण उपलब्धी र सफलताहरुका साथ अगाडि बढ्यौँ,’ उनले लेखेका छन्, ‘मलाई गर्व छ, धेरै गर्न सकिनँ होला‚ तर मैले गलत गरेको छैन ।’ आफूले आफ्नो कार्यकालमा राम्रो गर्दागर्दै पनि पार्टीलाई क्षति हुन नदिन र बलियो बनाउनका लागि आफ्नो प्रस्तावमा भीम आचार्यलाई मुख्यमन्त्री बनाएको बताएका छन् ।

‘देश प्रदेशमा अराजकता र अस्थिरता पैदा नहोस्‚ पार्टी एकताको पक्ष मजबुत होस्, पार्टीभित्र उत्पन्न समस्याको ठोस समाधानका लागि लामो गन्थन-मन्थनपछि कार्यान्वयनमा ल्याइएको १० बुँदेलाई अक्षरसः पालना गर्न र गराउनका लागि एकमुष्ठ तेजिलो गति पैदा हुन सकोस् भनेर त्यस मूल्यमा सेक्रिफाइसस्वरुप आजै मैले दलको नेता र पदबाट राजीनामा गरेको छु,’ उनले सामाजिक संजालमा लेखेका छन् ।

आफ्नै प्रस्तावमा दलको नेता र दोस्रो मुख्यमन्त्रीको रुपमा दलका सदस्य भीम आचार्य चयन भएको समेत उनले खुलाएका छन् ।

आफूले नेतृत्व गरेको दलमा पूर्ण बहुमत रहँदा रहँदै पनि देशको विकसित राजनितीक परिस्थिति, पार्टीभित्र देखा परेको विग्रह‚ टुटफुट अनि त्यसको प्रभाव र असरबाट प्रदेश नं १ मा नेकपा (एमाले) लाई क्षति पुग्न नदिन, सरकारको स्थायित्वलाई सुनिश्चित गर्न, नेपालको कम्युनिष्ट आन्दोलनको मूलधारलाई कमजोर हुन नदिन अहिलेको बाटो रोजेको उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *