प्रदेश १ : राजीनामा दिँदै राई, मुख्यमन्त्री बन्दै आचार्य

एमाले संसदीय दलको बैठक बस्दै

विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले आज राजीनामा दिने भएका छन् । संसदीय दलको बैठक बसेर उनले राजीनामा दिन लागेको राई निकट श्रोतले जानकारी दियो ।

माधवकुमार नेपालको साथ छाडेका भीम आचार्यलाई मुख्यमन्त्री बनाउन राईले राजीनामा दिन लागेका हुन् । यसका लागि एमाले संसदीय दलको बैठक बिहान ११ बजेका लागि बोलाईएको छ । मुख्यमन्त्री राईले संसदीय दलको नेताबाट राजीनामा दिएर भीम आचार्यलाई दलको नेता चयन गर्ने तयारी गरिएको एक सांसदले बताए । सोही बैठकले भीम आचार्यलाई दलको नेता चयन गर्ने तयारी छ ।

मुख्यमन्त्री राईले दलकाे नेताबाट राजीनामा दिएलगत्तै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी समक्ष राजीनामा दिने बताइएको  छ। नेपाल समूहबाट गुट परिवर्तन गर्दै आचार्य ओली समूहमा गएपछि एमाले अध्यक्ष केपी ओलीले मुख्यमन्त्री बनाउने आश्वासन दिएका थिए । यसऋघि शेरधन राईसँग २ मत अन्तरले पराजित भएका आचार्य राईकै समर्थनमा पुनस् संसदीय दलको नेता हुँदै मुख्यमन्त्री बन्ने बाटो खुल्दैछ ।

प्रदेश १ मा एमालेका ५१ जना सांसद छन् । नेकपा समाजवादीले आफ्नो पक्षमा ११ जना रहेको दाबी गर्दै आएको भएपनि नेकपा एमालेले चाहिने संख्या आफुहरुसँग रहेकोले भीम आचार्य मुख्यमन्त्री बन्ने संभावना बलियो भएको एक नेताले बताए । ‘हामीसँग चाहिँदो संख्या पुग्छ,’ ती नेताले मकालुखबरसँग भने, संसदीय दलभित्र डराउनु पर्ने अवस्था छैन ।’

प्रदेश सभामा मुख्यमन्त्री बन्न ४७ जना सांसद आवश्यक पर्छ । कांग्रेसका २१, माओवादीका १५, जसपाका ३, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १-१ जना सांसद छन् । समाजवादीमा ८ जना मात्रै सांसद गए भने पनि एमाले सरकार ढल्ने निश्चित छ । त्यो संख्या समाजवादीमा नरहेको दाबी एमालेका नेताहरुको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *