औषधि उपचारमा बिचौलियाको काम गर्ने १० दलाल विराटनगरबाट पक्राउ

विराटनगर । औषधि उपचारमा बिचौलियाको काम गर्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगरका विभिन्न अस्पतालहरूमा उपचार गराउन आएका बिरामी तथा बिरामीका आफन्तहरूलाई भेटेर नागरिकलाई गलत सूचना फैलाउने १० जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

‘यहाँ डक्टर राम्रो छैन, यो अस्पतालमा कोरोना धेरै छ, उपचार राम्रो छैन, औषधी राम्रो छैन’ जस्ता अफवाह फैलाई बिरामी तथा आफन्तहरूलाई झुक्याउने गरेको गुनासोका आधारमा १० जना बिचौलियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

यस्ता व्यक्तिले आफ्नो सम्पर्कमा भएको अस्पताल वा क्लिनिकमा उपचारका लागि लाग्ने, सम्पर्कमा भएको फार्मेसीमा औषधि किन्न बाध्य गराउने बिचौलियाको कार्य गरी सर्वसाधारण नागरिकलाई दुःख दिने गरेको गुनासो आएपछि प्रहरीले निगरानी बढाएको थियो । नागरिकलाई सधैँ हैरानी दिने गरेको आधारमा प्रहरीले यसअघि २ जनालाई पनि पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा ३ जनालाई कोशी अस्पताल अगाडिबाट नीजि अस्पतालमा लैजानका लागि बिचौलियाको काम गर्ने व्यक्तिहरू रहेका छन् भने अन्य ७ जना नोबेल मेडिकल कलेज अगाडि बसेर नागरिकलाई हैरानी दिनेमध्येका भएको डिएसपी श्रेष्ठले बताए ।

प्रहरीले सुनसरीको दुहवी- ६ का ५४ वर्षीय श्रीराम चौधरी, सिरहाका २० वर्षीय सूर्य नारायण यादव र मोरङको कटहरी गाउँपालिका- ३ बस्ने ४२ वर्षीय मो. जलिदलाई कोशी अस्पताल अगाडिबाट पक्राउ गरेको हो ।

विराटनगर महानगरपालिका- ७ बस्ने १८ वर्षीय विश्वास मण्डल, विराटनगर महानगरपालिका- १४ बस्ने २३ वर्षीय रोशन गुप्ता, विराटनगर- ४ बस्ने १९ वर्षीय सुजित यादव, विराटनगर- ५ बस्ने २२ वर्षीय फिरोज रोय, २१ वर्षीय समिर खान, १८ वर्षीय सरोज खान र विराटनगर- ३ बस्ने १८ वर्षीय अमित यादवलाई नोबेल मेडिकल कलेज अगाडिबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई प्रहरीले अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी गरेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *