सुदूरपश्चिममा रावलको पक्षमा तीन सांसद मात्रै !

धनगढी । नेकपा [एमाले] का नेता भीम रावलले सुदूरपश्चिममा आफ्ना विश्वास पात्र गुमाउने देखिएको छ । लामो समयदेखि माधवकुमार नेपाल पक्षमा रहेका रावल  पार्टीमा विवाद भएपछि ओली पक्षमा खुलेपछि उनले सुदूरपश्चिममा आफ्ना विश्वासपात्र गुमाउने देखिएको हो ।

तत्कालीन नेकपा हुँदै एमाले पुनर्गठित हुँदासम्म नेपाल समूहमा रहँदै ओलीको खह्रो विरोधीका रुपमा रहेका रावल अहिले ओलीतिर खुलेर एमालेमै रहने निर्णयमा पुगेका छन् । सुदूरपश्चिममा तत्कालीन समयमा पार्टी र प्रदेश सभामा नेपाल समूहको वर्चश्व थियो । जसले गर्दा यहाँ रावलको ‘दबदबा’ थियो । तर, अहिले नेता नेपालले नयाँ पार्टी दर्ता गर्दा एमालेमै रहने भएका रावलले सुदूरपश्चिममा आफ्नो जनआधार गुमाउने देखिएको हो ।

एमाले विभाजन भएपछि प्रदेशका नेताहरु विभाजित हुने भएका हुन् ।  सुदूरपश्चिम प्रदेशसभामा एमालेबाट सभामुखबाहेक २४ जना सांसद छन् । त्यसमध्ये यसअघि माधव नेपाल समूहमा १७ जना र ओली पक्षमा सातजना मात्रै खुलेका थिए । तर अब यो संख्यामा केही फेरबल हुने देखिएको छ ।

यसअघि नेपाल पक्षमा रहेकामध्ये तीन जना  मात्र भीम रावलसँगै लागेर साबिक एमाले मै बस्ने भएका छन् । स्रोतकाअनुसार एमाले प्रदेश सभा संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाह, सांसद हर्क कुँवर र मना साउद मात्र रावलसँगै रहने सम्भावना छ । यसो हुँदा अब ओली पक्ष अर्थात् एमालेमा १० जना सांसद हुने भएका छन् । रावलका विश्वास पात्र रहेका भौतिक पूर्वाधार मन्त्रीसमेत रहेका दीर्घ सोडारी नेपालसँगै नयाँ दलमा जाने श्रोतको दाबी छ ।

प्रदेशस भामा प्रतिनिधित्व गर्ने आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, पूर्व उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्ट एकीकृत समाजबादीको केन्द्रीय कमिटीमै छन् । मन्त्री जोशीले भने प्रदेशसभामा यस अघि नेपाल समूहमा रहेका सबै नयाँ पार्टीमा आउने बताएकी छन् । उनले अहिले केन्द्रीय समितिमा नबसेपनि अधिकांश एमाले सांसद नयाँ पार्टीमा खुल्ने दाबी गरेकी छन् ।

प्रदेश सांसद तारा लामा तामाङले पनि यसअघि नेपाल समूहमा रहेका सबै एकै ठाउँमा रहेको बताइसकेका छन् । यद्यपि उनले एकै ठाउँ भनेको एमाले वा नयाँ दल भन्नेबारेमा भने बताएका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *