महेन्द्र मोरङ क्याम्पसमा विद्यार्थीदेखि प्राध्यापकसम्म तालाबन्दीमा

विराटनगर । विराटनगरमा रहेको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस सधैँ हुने आन्दोलनका कारण अस्तव्यस्त हुँदै आएको छ । कहिले आंशिक प्राध्यापकले गर्ने आन्दोलन, कहिले विद्यार्थी संगठन र कहिले विद्यार्थी स्वतन्त्रताका नाममा हुने आन्दोलन त छन् नै‚ प्राध्यापक संघको नाममा पनि आन्दोलन गर्दै कोरोनाको बिचमा पनि क्याम्पस तालाबन्दीको अवस्थामा छ ।

मंगलबार विद्यार्थीहरूले क्याम्पस प्रशासनसँगै आर्थिक प्रशासनमा पनि ताला लगाए । क्याम्पसमा आन्दोलन गर्ने र तालाबन्दी गर्नेको माग एकै प्रकृतिको नभएपनि आन्दोलनको प्रवृत्ति भने एकै खालको देखिएको छ । विद्यार्थीका विभिन्न समूहहरूले गर्ने आन्दोलनको प्रकृति र अहिले प्राध्यापकहरूले गर्ने आन्दोलनको प्रवृत्ति पनि एकै खालको देखिएको छ ।

बौद्धिक क्षेत्रले बौद्धिक रुपमा नै आन्दोलन गर्लान् भनेर सोच्ने व्यक्तिहरूले गर्ने आन्दोलन पनि तालाबन्दी नै रहेछ भन्ने उदाहरण तिनै प्राध्यापकहरूले दिएका छन् ।

के हो आंशिक प्राध्यापकको माग ?
महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा ८३ जना आंशिक प्राध्यापक छन् । उनीहरुले विगत वर्षदेखि नै करारमा नियुक्त गर्नुपर्ने माग राख्दै आएका छन् । राज्यको अन्य प्राध्यापकको सरह सेवा सुविधाको माग उनीहरूको छ । लामो समय विभिन्न चरणको आन्दोलन गर्दै आएका आंशिक प्राध्यापकहरूले पछिल्लो समय आएर क्याम्पसमा तालाबन्दी गर्नेसम्मको काम गरे ।

No description available.

महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका ८३ जना आंशिक प्राध्यापकलाई करारमा नियुक्ति दिनुपर्ने माग उनीहरूको छ । गतअसार २० गतेदेखि आंशिक प्राध्यापक संघ महेन्द्र मोरङ बहुमुखी क्याम्पसले क्याम्पसको गतिविधि नै ठप्प हुनेगरी तालाबन्दी गरे । आन्दोलन सामान्य रुपमा अघि बढेको अवस्थामा खासै वास्ता नगरेको क्याम्पस प्रशासनलाई दबाब दिन तालाबन्दीमा उत्रिएपछि मात्र क्याम्पस प्रशासनले छलफल र वार्ताका लागि बोलायो ।

क्याम्पस प्रशासन र आन्दोलनरत पक्षसँग करारका लागि लेखेर पठाउने सहमति भएको आंशिक प्राध्यापक संघ महेन्द्र मोरङ बहुमुखी क्याम्पस इकाई समिति अध्यक्ष भविष्य मिश्रले जानकारी दिए ।

आन्तरिक स्रोतबाट २० जनालाई करार नियुक्ति दिन र बाँकी रहेका ६३ जनाको हकमा त्रिभुवन विश्वविद्यालयबाट दरबन्दीका लागि माग गर्नेबारेमा सहमति भएको उनले बताए । सोही सहमतिका आधारमा साउन ८ गने उनीहरूले क्याम्पसमा लगाएको तालाबन्दी खोले । यो आन्दोलन स्थगित हुन नपाउँदै अर्को समूह ताला र चाबी हातमा लिएर तयारी अवस्थामा बसेको थियो । त्यो समूह क्याम्पसमा अध्यापन गराउने स्थायी प्राध्यापकहरू अर्थात् विभिन्न प्राध्यापक संघहरूको थिए ।

शिक्षकहरू नै गर्छन् तालाबन्दी
आंशिक प्राध्यापकहरूले आन्दोलन गर्दा गर्दै फेरि अर्को आन्दोलन शुरु भयो प्राध्यापक संघहरूको नाममा । शुरुमा असार १७ गते प्राध्यापक संघको नाममा क्याम्पस प्रशासनविरुद्धको आन्दोलन शुरु भयो । त्यही बेलामा क्याम्पसका प्राध्यापक संघको नाममा क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी भयो । लगत्तै अर्को प्राध्यापकको समूह तालाबन्दी गर्न आइपुग्यो । प्रजातान्त्रिक प्राध्यापक संघ र पछिल्लो पटक मधेशी प्राध्यापक संघको नाममा फेरि त्यही क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी भएको छ ।

No description available.

क्याम्पसमा कतिबेला कसले तालाबन्दी गर्छ कसैले पत्तोसमेत पाउँदैनन् । पछिल्लो समय तालाबन्दी गरेको मधेशी प्राध्यापक संघले क्याम्पसको समग्र सुशासनका लागि आन्दोलन गरेको दाबी गरेको छ । प्राध्यापक संघका सदस्य तथा मधेशी प्राध्यापक संघ महेन्द्र मोरङ क्याम्पस इकाई सभापति डा प्रमोदकुमार खेरवारले क्याम्पस प्रशासनबाट विकास निर्माणको नाममा भएको भ्रष्टाचारविरुद्ध आफूहरूले आन्दोलन गरेको बताए । ‘क्याम्पस प्रशासन पारदर्शी बनाउनका लागि स्वेतपत्र जारी गर्नुपर्ने हाम्रो माग हो,’ उनले भने, ‘अहिले क्याम्पसभित्र भइरहेको विकास निर्माण र शैक्षिक क्षेत्रमा भएको खर्चको बारेमा कसैलाई जानकारी हुँदैन‚ त्यसलाई सार्वजनिक गर्दै पारदर्शिताको प्रश्न उठाइएको हो ।’

शुल्क घटाउन दबाब
असारदेखि नै तालाबन्दी गर्दै आएका प्राध्यापकको आन्दोलनलाई मलजल पुग्नेगरी पुनः विद्यार्थीले आन्दोलन थालेका छन् । क्याम्पस प्रशासनले अनलाईन पढाएको पनि पूरै रकम लिएको भन्दै विद्यार्थी आन्दोलित भएका हुन् । मास्टर्स प्रोग्राम सेमेस्टार प्राणालीमा गएपछि क्याम्पसले विद्याार्थीहरूबाट रकम उठाउनेबारेमा विद्यार्थीसँँग छलफल गरेको थियो ।

छलफलबाट सबै विद्यार्थी संगठन र क्याम्पस प्रशासनका बिचमा १९ हजार ५५ सय प्रतिसेमेस्टर तिर्ने गरी सहमति भएको थियो । त्यसैका आधारमा क्याम्पसले रकम लिँदै आएको थियो । सहमतिका आधारमा १५ प्रतिशत छात्रवृत्ति दिने पनि भनिएको थियो । छात्रवृत्ति दिएन‚ तर रकम भने क्याम्पसले लिँदै आयो ।

जब कोभिड शुरु भयो‚ त्यसपछि क्याम्पसको अनलाईन कक्षा सञ्चालन भयो । विद्यार्थीले रकम पूरै तिर्नुपर्ने भनिएपछि बिना सेवा सुविधा रकम नतिर्ने र ५० प्रतिशत छुट हुनुपर्ने मागसहित आन्दोलित भएको एमबीएसका विद्यार्थी नेता नविन पहाडीले बताए ।

‘कोरोनाकालमा अनलाईनबाट पढाइ हुँदै आएकाले ५० प्रतिशत छुट भएर जानुपर्छ भन्ने हाम्रो माग हो,’ उनले भने, ‘अनलाईन पढाइ हुँदा कुनै सुविधा उपभोग नगरिएकाले क्याम्पसले यो विषयलाई गम्भीर रुपमा लियोस् भनेका छौँ ।’

उनीहरूले पनि मंगरबारदेखि नै क्याम्पस प्रशासनसँगै आर्थिक प्रशासनमा पनि तालाबन्दी गरिदिएका छन् । आजदेखि क्याम्पसको आर्थिक तथा प्रशासनिक काम ठप्प भएको छ । योसँगै क्याम्पसको ८ हजार विद्यार्थी अध्ययन गर्दै आएको यस क्याम्पसको शैक्षिक गतिविधि ठप्प भएको छ ।

No description available.

आर्थिक प्रशासनमा भएको तालाबन्दीले भदौ १५ गतेसम्म एमसबीएसको दोस्रो सेमेस्टरको परीक्षा फारम भर्ने कार्यतालिका प्रभावित हुने, एमएससी र एमएका विद्यार्थीको मौका परीक्षाको अन्तिम दिन बुधबारसम्मलाई तोकिएकाले त्यो पनि प्रभावित हुनेछ ।

क्याम्पस प्रशासनले क्याम्पसमा दिनहुँजसो हुने तालाबन्दीलाई काम गर्न नदिने षड्यन्त्रको रुपमा लिएको छ । क्याम्पस प्रमुख बाबुराम तिमल्सेनाले क्याम्पसमा तालाबन्दी गर्ने आंशिक प्राध्यापकहरूले आन्दोलन फिर्ता लिएको बताए । त्यस्तै प्राध्यापकहरूको माग सहायक क्याम्पस प्रमुखको नियुक्तिसँग जोडिएकाले आफूले क्याम्पस प्रमुख नपाउँदाको आक्रोश व्यक्त भएको उनको भनाइ छ ।

४ जनालाई केही महिनाअघि सहायक क्याम्पस प्रमुखमा नियुक्त गरिएको थियो । नेपाली कांग्रेसबाट डा. विश्वदेव दास, माओवादीबाट बासुदेव मेहता, फोरमबाट शिवनारायण चौधरी, एमालेबाट डिल्ली पोखरेल सहायक क्याम्पस प्रमुखमा नियुक्त भएका थिए । सबै प्राध्यापक संघसँग नै सल्लाह गरेर उनीहरूको नियुक्ति गरिएको प्रमुख तिमल्सेना बताउँछन् ।

नियुक्त भएका उनीहरूलाई पार्टीले नै सबैको सिफारिस गरेको हो । सबै पार्टीले सिफारिस गरेका थिए । वार्ताका लागि आह्वान गर्दा पनि नआउने गरेको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *