हरिमोहनले गरे ९०औँ पटक रक्तदान

विराटनगर । विराटनगर मेनरोडका औषधि व्यवसायी हरिमोहन श्रेष्ठले ९०औँ पटक रक्तदान गरेका छन् । विराट अस्पतालमा उपचाररत मोरङ उर्लाबारीका सञ्जय माझीकालागि उनले ९०औँ पटक रक्तदान गरेका हुन् ।

आइतबार राति उर्लाबारी-४ वरगाछीमा भएको मोटरसाइकल दुर्घटनामा परि माझीको अस्पताल भर्ना गरिएको थियो । घाईते माझीको करङ भाँचिएर छातिमा रगत जमेको र शल्यक्रियाका लागि ए पोजेटिभको ताजा रगत आवश्यक भएपछि ए पोजेटिभ भएका श्रेष्ठले रक्तदान गरेको बिरामीका दाजु भोलानाथ माझीले बताए ।

श्रेष्ठले तीन/तीन महिनामा रगतको आवश्यक परेका बिरामीलाई रक्तदान गर्दै आएका छन् । यसअघि पनि श्रेष्ठ बैशाख १९ गते खोटाङ चिसापानीकी उर्मिला राईका लागि रक्तदान गरेको बताए । यसपटक तीन महिना पुग्नसाथ रक्तदान गर्न खोजेपनि कोरोना खोप लगाएको २४ दिनपछि मात्र पाइने भएपछि ढिलो गरी रक्तदान गर्नु परेको उनले जानकारी दिए । कम्तीमा एक सय पटक रगत दिने रहर रहेको श्रेष्ठले बताए ।

विराटनगरमा एक सय पटक भन्दा बढी रगत दिनेमा डा. केएन ठाकुरको कीर्तिमान छ । यस्तै नेपालमा काठमाडौँका प्रेमसागर कर्मचार्यले १६६ पटक र बढी पटक रक्तदान गर्ने नेपालीमा अर्जुन मैनाली छन् । हाल अमेरिकामा रहेका मैनालीले आफ्नो रक्तदानको ३४ औं वार्षिकोत्सव मनाउँदै शुक्रबार १९९ पटक रक्तदान गरेका हुन् । यस अवधिमा उनले दिएको रगत ५ सय ९७ जनाको जीवन रक्षाका लागि उपयोग भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *