विद्यार्थी नै नभएका स्कूलका शिक्षकलाई तलब

पोखरा । विद्यालयमा विद्यार्थी हुन्छन् । उनै विद्यार्थीलाई हो, शिक्षकले पढाउने । तर विद्यार्थी नै नभएका स्कूलमा शिक्षकले कसलाई पढाउँछन् ? वा उनीहरू के गरेर वर्ष बिताउँछन् ? गण्डकी प्रदेशका दुई यस्ता विद्यालय छन्, जहाँ पढाउँदै नपढाई शिक्षकले बर्सेनि तलब बुझ्छन् ।

मनाङस्थित मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाले पढाउँदै नपढाएका शिक्षकको नाममा तलब निकासा दिएको छ ।

नार्पाभूमी गाउँपालिकास्थित फू आधारभूत विद्यालयमा बालविकास बाहेकका एक जना पनि विद्यार्थी छैनन् । त्यहाँ दुई स्थायी र एक करार शिक्षक कार्यरत छन् । पालिकाले उनीहरूको तलब भत्तालगायत सुविधाको लागि वार्षिक १२ लाख ६५ हजार निकासा दिँदै आएको छ ।

मनाङ ङिस्याङ गाउँपालिकाको ङावल आधारभूत विद्यालयमा एकजना पनि विद्यार्थी छैनन् । यहाँ ८ जना स्थायी शिक्षक कार्यरत छन् ।

उनीहरूको तलबभत्तालगायत सुविधाका लागि वार्षिक ३५ लाख ८६ हजार रुपैयाँ निकासा गरिएको छ । एकजना पनि विद्यार्थी नभएको अवस्थामा समेत करारका शिक्षक नियुक्त गर्नु उचित होइन । महालेखा परीक्षकको प्रतिवेदनले यि विद्यालय नजिकको स्कूलमा गाभ्न सुझाव दिएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले २०७५ साउन ६ देखि २०७६ पुस ४ गतेसम्म कार्यरत नै नरहेका शिक्षकको नाममा तलब निकासा गरिदिएको छ । उनको नाममा ११ लाख ९९ हजार रुपैयाँ निकासा दिएको र त्यसमध्ये ३ लाख १३ हजार असुल भइसकेको देखिएको छ । बाँकी ८ लाख ८६ हजार रुपैयाँ पनि असुल गर्न महालेखापरीक्षकको सुझाव छ ।

यस्तै, बागलुङको तमानखोला गाउँपालिकाले १९ वटा विद्यालयमा ४८ शिक्षक नियुक्त गरेको छ । उनीहरुलाई सशर्त अनुदानबाट ३२ लाख ३८ हजार तलब निकासा पठाएको छ । पालिकाले नियुक्त गरेका शिक्षकहरूको तलबभत्ता आन्तरिक स्रोतबाट निकासा दिनुपर्नेमा सशर्त निकासा दिनु गलत हुने भन्दै आन्तरिक स्रोतबाट तलबभत्ताको व्यवस्था गर्न महालेखा परीक्षकले सुझाएको छ ।

गोरखाका केही पालिकाले भने आवासीय विद्यालयलाई विद्यार्थी घरमा बसेका बेलाको पनि रकम निकासा दिएका छन् । सार्वजिक विद्यालयमा आवासमा बसी अध्ययन गर्ने विद्यार्थीका लागि प्रतिविद्यार्थी प्रतिमहिना ४ हजारका दरले सरकारले उपलब्ध गराउँछ । हरेक वर्ष १० महिनाको आवासीय छात्रवृत्ति अनुदान दिने व्यवस्था छ ।

२०७७ मा सबैजसो विद्यालय कोभिडका कारण बन्द थिए । गोरखाका आरुघाट, चुमनुब्री र धार्चे गाउँपालिकाले ११ विद्यालयलाई १० महिनाका लागि आवासीय छात्रवृत्ति निकासा दिएको छ । कोभिड-१९ का कारण २०७६ चैत ११ देखि पालिकाका सबै विद्यालय बन्द भई शैक्षिक क्रियाकलाप सञ्चालनमा नरहेकाले वैशाखदेखि असारसममको ४७ लाख २८ हजार असुल गर्न र संघीय सञ्चित कोषमा दाखिला गर्न निर्देशन दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *