मुख्यमन्त्री केसीले पाए विश्वासको मत

काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले प्रदेश सभाबाट विश्वासको मत लिएका छन् । मुख्यमन्त्री केसीले सोमबार (आज) को प्रदेश सभा बैठकबाट विश्वासको मत लिएका हुन् ।

नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा र स्वतन्त्र राजनीति समूहबाट निर्वाचित सांसद अजय शाहीको समर्थनमा गत साउन २७ गते मुख्यमन्त्री बनेका केसीले ४२ मत प्राप्त गर्दै विश्वासको मत लिएका हुन् ।

‘विश्वासको मत पाउँ’ भनि प्रदेश सभामा राखेको आफ्नो प्रस्तावको विपक्षमा मुख्यमन्त्री केसीले शून्य मत पाए । प्रदेश सभामा ४३ जना सांसदहरुको उपस्थिति रहेको थियो ।

एमालेद्वारा बैठक बहिष्कार

प्रमुख प्रतिपक्षी नेकपा –एमालेले भने प्रदेश सभा बैठक बहिष्कार गरेको थियो । सांसद अजय शाही र विमलाकुमारी वलीलाई कारबाही नगरेसम्म प्रदेश सभाको बैठकमा सहभागी नहुने एमालेको अडान छ । त्यसैअनुसार मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाएको बैठकमा एमालेका कोही पनि सांसद सहभागी थिएनन् ।

एमालेले मुख्यमन्त्रीले विश्वासको मत लिनेबारे आफूहरुलाई जानकारी नभएको एमाले संसदीय दलका उपनेता वैजनाथ चौधरीले बताए । ‘हामीले हाम्रो कुरा प्रदेश सभाको बैठकमा नै राखेका छौँ, उहाँहरुले त्यसपछि सल्लाह गर्नुभएको छैन,’ चौधरीले भनेका छन् ।

को हुन् केसी ?

केसी तत्कालीन माओवादी केन्द्रले सशस्त्र विद्रोह संचालनार्थ गठन गरेको जनमुक्ति सेनाका डिभिजन कमिसार थिए । एमाले–माओवादीको एकताबाट बनेको नेकपामा उनी केन्द्रीय सदस्य र संसदीय दलको उपनेता थिए ।

नेकपा (मसाल)को विद्यार्थी संगठनबाट राजनीति थालेका रोल्पा लिवाङका केसी ०५९ सालमा माओवादीबाट फुटेको मोहन वैद्यको पार्टीमा लागेका थिए । ०७३ मा प्रचण्ड नेतृत्वको माओवादीमा फर्किएर प्रत्यक्षतर्फ रोल्पा १ बाट निर्वाचित भएका उनी शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानूनमन्त्री थिए । नेकपा विभाजनपछि गण्डकी प्रदेशमा नेपाली कांग्रेस र लुम्बिनीमा नेकपा (माओवादी केन्द्र)ले मुख्यमन्त्री पाउने सहमति भएअनुसार ५१ वर्षीय केसीलाई लुम्बिनीका चार दलले मुख्यमन्त्री प्रस्ताव गरेका थिए ।

प्रवीणता प्रमाणपत्र तहसम्म अध्ययन गरेर ०४८ देखि ०५० सम्म शिक्षण पेशामा आवद्ध उनी ०५० देखि ०५२ सम्म नेकपा (एकता केन्द्र) को रोल्पा इलाका सेक्रेटरी थिए । ०५५ सालमा माओवादीमा लागेका उनी एक वर्ष दाङ, सल्यान र प्युठानको संयुक्त सेक्रेटरी रहे ।

०५६ मा पार्टीको भेरी–कर्णाली क्षेत्रीय ब्यूरो सदस्यमा बढुवा भएका उनी ०५७ मा जनमुक्ति सेनाको कम्पनी कमिसार र पार्टीको केन्द्रीय सदस्य बने । ०५९ सालदेखि पोलिटब्यूरो सदस्य र बागमती–नारायणी ब्यूरो इन्चार्जको भूमिकामा रहेका केसी ०६० मा भारतको पटनाबाट गिरफ्तार भए र ०६३ मा रिहा भए ।

२०६३ देखि ६८ सालसम्मको अवधिमा उनी जनमुक्ति सेनाको तेस्रो डिभिजन कमिसारका साथै विभिन्न ब्यूरो इन्चार्ज रहे । त्यसपछि पार्टीको युवा दस्ता योङ कम्युनिष्ट लिग (वाईसीएल) इन्चार्ज बने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *