व्यङ्ग्य कविता : नेपालमा परिवर्तन आयो

भाग नेपाली भाग, नेपालमा परिवर्तन आयो
सत्र हजार शहीद बोकी, अर्को रित्तो वर्तन आयो
विधवा टुहुरा सुकुम्वासी, सप्पैको यो भिड आयो
भाग नेपाली भाग नेपालमा परिवर्तन आयो ।

राजनीतिको भूत आयो, विदेशीको दूत आयो
शीर्षस्थको झुट आयो, नेपालीबीच फुट आयो
पार्टी पार्टी गुट आयो, गुट गुटको लूट आयो
बलात्कार हत्या हिंसा छुट आयो, अग्रगमनको भूत आयो
भाग नेपाली भाग नेपालमा परिवर्तन आयो ।

लड्न जा कि पढ्न जा, बढ्न जा कि सड्न जा
जोड्न जा कि छोड्न जा, गर्न जा कि मर्न जा
सुध्रिन जा कि बिग्रन जा, कमाउन जा कि गुमाउन जा
आशा पनि अब बाँकी छैन यहाँ , जा जा जा
भाग नेपाली भाग नेपालमा परिवर्तन आयो ।

नयाँ राष्ट्र गान आयो, परिवर्तनको भान आयो
अपराधीको मान आयो, विद्वानको अपमान आयो
महँगीको घान आयो, सत्ता ताना तान आयो
भाग नेपाली भाग नेपालमा परिवर्तन आयो ।

उद्योग व्यापारमा ताला आयो, तस्कर मालामाल आयो
खानपानमा जहर आयो, असारे विकासको लहर आयो
पार्टी-पाठशाला आयो, टोल टोल मधुशाला आयो
ऋण डालाका डाला आयो, कर्तव्य च्युत अधिकारवाला आयो
भाग नेपाली भाग नेपालमा परिवर्तन आयो ।

बेचेर जा कि छोडेर जा, मागेर जा कि चोरेर जा
भागेर जा कि लुकेर जा, गुडेर जा कि उडेर जा
अम्रिका जा कि अफ्रिका जा, खाडीमा जा कि बाढीमा जा
यहाँ कोही र केही बाँकी रहेन तेरो, त्यसैले जा जा जा
भाग नेपाली भाग नेपालमा परिवर्तन आयो ।

तेरो भन्नु लगे सप्पै, अर्कैको धर्म कर्म आयो
अर्कैको दया-माया, अर्कैको शासन आयो
स्वाभिमान पनि लगे तेरो, आत्मग्लानिको थुप्रो आयो
स्वतन्त्रताको छोड्दे कुरा, गुलामीमा अभिमान आयो
भाग नेपाली भाग नेपालमा परिवर्तन आयो ।
भाग नेपाली भाग नेपालमा परिवर्तन आयो ॥

प्रतिक्रिया

2 thoughts on “व्यङ्ग्य कविता : नेपालमा परिवर्तन आयो

  1. निक्कै सुंदर र यथार्थ व्यंग्य, लेखकलाई धेरै धेरै धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *