विर्तामोडमा परिवारकै बिल्लीबाठ गराउने युट्युबर काण्ड

विराटनगर । झापाको विर्तामोडमा भिडिओ युट्युबमा सार्वजनिक गरी व्यक्तिको चरित्र हत्या गर्ने गरेको अभियोगमा तीनजना पक्राउ परेका छन् । अन्य तीनजनालाई प्रहरीले खोजी गरिरहेको जनाएको छ ।

दुई महिला र एक पुरुष होटलमा खाजा खान गएको विषयलाई गलत व्याख्या गर्दै युट्यूबमा भिडिओ सार्वजनिक भएपछि ६ जना ‘युट्युबरहरू’विरुद्ध प्रहरीमा उजुरी परेको छ । त्यसकै आधारमा तीनजना पक्राउ परेको र तीनजनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यस्तो छ घटना-
विर्तामोडका दुई महिला साथीमध्ये एक जनाको जन्मदिन थियो । दुवै जनाले जन्मदिन मनाउने तयारी गरेपनि त्यो दिन फुर्सद नभएकाले भोलिपल्ट उनीहरू जन्मदिन मनाउन होटलमा जाने तयारी गरे ।

बेलुका करिब ७ बजेतिर उनीहरू दुई महिला र एक पुरुष विर्तामोडको आँखा अस्पताल अगाडि रहेको सिमाना होटलमा गए । त्यहाँ खाना खानेहरूको चहल पहल थियो । होटलमा धेरै मानिस भएकाले कोरोनाको डर हुने भन्दै होटल संचालकले माथिको कोठामा सुरक्षित रुपमा बसेर खान भने । ‘त्यो दिन उहाँहरू आउनुभन्दा पहिलेदेखि नै होटलमा धेरै ग्राहक थिए, उहाँहरू पनि आउनुभयो, मैले भिडभाडमा बस्नुभन्दा माथिल्लो तलाको रुम नम्बर १०१ को कोठामा गएर सुरक्षित रुपमा खान भनेको थिएँ‚’ सिमाना होटलका संचालक शंकर प्रसाईंले भने ।

उनीहरूले दृष्यलाई समेत तोडमोड गरेर होटेलमा अनैतिक क्रियाकलाप भएको आशयको सामग्री बनाएर सार्वजनिक गरेका थिए ।

मुस्लिम समुदायका ग्राहक धेरै भएको र उनीहरूले बोतल हटाउन भनेपछि आफूले माथिल्लो तल्लाको कोठामा जान भनेको सञ्चालक प्रसाई बताउँछन् । उनी भन्छन्, ‘खाना खाएर सबै ग्राहक गइसकेका थिए । ८ बजेतिर उनीहरू पनि निस्कन लागेका थिए । त्यहीबेला तल च्यानल गेटमा मानिसहरू आएर होहल्ला गरेपछि म हतार-हतार भुईंमा झर्दा प्रहरी र अरु केही व्यक्तिलाई देखेँ । मैले गेट खोल्ने बित्तिकै मेरो हातबाट ‘युट्युबरहरू’ले चाबी थुते । प्रहरीले भिडिओ नखिच्न भन्दा उनीहरुले हप्की दप्की गरे ।’

उनीहरूले भिडि‌ओ खिचे‚ अनि युट्यूब र टिकटकमा भाइरल बनाए । भिडिओ सार्वजनिक भएसँगै ती दुई महिलाको परिवारमा कलह शुरु भयो । एक महिलालाई परिवारले ‘स्वीकार नगर्ने’ बतायो । उनीहरूलाई समाजले गलत रुपमा बुझ्यो । उनीहरू तीनै जना र प्रहरीले समेत भिडिओ नखिच्न आग्रह गर्दा पनि उनीहरूले गलत गरेको भन्दै ‘युट्युबर’ले होटलमा गएका ती दुई महिला र पुरुषलाई पक्राउ गर्न प्रहरीलाई दबाब दिए ।

‘अर्को दिन भिडि‌ओ सार्वजनिक भएछ,’ पीडित एक महिलाले भनिन्, ‘युट्युब र टिकटकमा भिडिओ भाइरल भएपछि के गर्ने कसो गर्ने भयो, एकमनले त आत्महत्या गर्नेसम्म सोच आयो । होटलमा गएर खाँनु हुँदैन र ?’

‘हामीले गएर होटलमा खाजा खानै नहुने हो ? उनीहरुले मलाई करोडौंको नोक्सानी पुर्‍याएका छन् । म, मेरो परिवार, छोराछोरी, सबैलाई अपूरणीय तनाब दिएका छन्, हामीलाई न्याय चाहियो‚’ उनले भनिन् ।

गलत तरिका
होटलमा खाजा खान पुगेका उनीहरूले ‘युट्युबर’का कारण चरित्र हत्या भएको भन्दै इलाका प्रहरी कार्यालय विर्तामोडमा जाहेरी दिए । होटलमा खाजा खान गएका बेला त्यहाँ रहेकी एक महिलाको नातामा काका ससुरा पर्ने हेमराज भट्टराईले प्रहरी र अन्य दुई जना युट्युबरसमेत लगेर भिडिओ बनाई बेइज्जत हुनेगरी प्रचार गरेका थिए ।

भट्टराई र ‘युट्युबर’को सूचनामा होटल पुगेको प्रहरीले उनीहरू सामान्य अवस्थामा रहेको पाएपछि भिडिओ नखिच्न भनेको थियो । तर प्रहरीको निर्देशनसमेत लत्याउँदै भिडिओ खिच्ने युट्युबर भाष्कर श्रेष्ठसहितले हप्की दप्की गर्दै भिडिओ खिचेर आफ्नो च्यानलमार्फत् सार्वजनिक गरिदिएका थिए ।

त्यसैगरी उनीहरु खाजा खान पुगेको होटलका सञ्चालक र होटेल व्यवसायी संघ विर्तामोडका पदाधिकारीले पनि होटलमा पुगेका पाहुना र होटललाई नै बदनाम गराउने युट्युबरमाथि कडा कानूनी सजायको माग गरेका छन् ।

उनीहरूले दृष्यलाई समेत तोडमोड गरेर होटेलमा अनैतिक क्रियाकलाप भएको आशयको सामग्री बनाएर सार्वजनिक गरेका थिए । पत्रकार र मिडियाका नाममा योजनावद्ध रुपमा युट्युबरले भिडिओ खिचेर चरित्रहत्या गर्ने काम गरेको भन्दै उनीहरूले भाष्कर श्रेष्ठ लगायतमाथि कानुनी कारबाही गर्न माग गरेका थिए ।

घटनामा संलग्न रहेको भन्दै युट्युबर भाष्कर श्रेष्ठ‚ खगेन्द्र घिमिरे, स्थानीय हेमराज भट्टराई, सुभाषा कार्की, कल्पना थापा (बस्नेत) र चन्दा प्रसाईं (पोखरेल)विरुद्ध उजुरी दर्ता भएकोमा तीनजना पक्राउ परेको ईलाका प्रहरी कार्यालय विर्तामोडका डिएसपी सन्तोष आचार्यले बताए ।

विर्तामोडको होटल जंगल भ्यू चारआलीका सञ्चालक हेमराज भट्टराई, सोही ठाउँका स्नुकर पूल सञ्चालक सुवास कार्की, युट्युबर खगेन्द्र घिमिरेलाई पक्राउ गरिएको डिएसपी आचार्यले बताए ।

‘युट्युब च्यानल’का नाममा जथाभावी र मनपरी गर्न थालिएपछि अहिले यस्ता व्यक्तिलाई कडा कानूनी कारबाही हुनुपर्ने माग चौतर्फी उठ्न थालेको छ ।

शुक्रबार पक्राउ परेका उनीहरूलाई सोमबार अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ । पत्रकार सम्बद्ध संघ– संस्थाले पनि विर्तामोड घटनामा संलग्नलाई कानूनी कारबाहीमा सहयोग गर्ने वचन दिएको प्रहरीले जनाएको छ ।

अनुसन्धान प्रभावित, पत्रकारिता र वास्तविक युट्युबरसमेत बदनाम
पछिल्लो समयमा युट्युबरका कारण कतिपय संवेदनशील विषयमा अनुसन्धानमा नै अवरोध पुर्‍याउने गरेको गुनासाहरू पनि आएको प्रहरीले गर्ने गरेको छ ।

नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले ‘युट्युबर’को नाममा भइरहेका हर्कतले वास्तविक पत्रकारहरूलाई नै अप्ठ्यारो पर्न थालेको बताए । पत्रकार हुँ भनेर हिँड्न पनि अप्ठ्यारो पर्न थालेको उनको भनाइ छ । सत्यतथ्य के हो भन्ने कुरा बुझ्नभन्दा हो-हल्लाका पछि कुद्ने गर्दा पनि झनै समस्या भइरहेको हो ।

पत्रकार र पत्रकारिताको आधारभूत ज्ञानसमेत नभएका तथा सामाजिक मर्यादा र के गर्न हुने/नहुने भन्ने मान्यता समेत नराखी केवल ‘भाइरल’ हुने र पैसा कमाउनेमात्र ध्याउन्न राख्नेहरूले युट्युब च्यानलमार्फत् राम्रा सामग्री प्रस्तुत गर्ने युट्युबरहरूलाई पनि समस्यामा पारेका छन् ।

‘युट्युब च्यानल’का नाममा जथाभावी र मनपरी गर्न थालिएपछि अहिले यस्ता व्यक्तिलाई कडा कानूनी कारबाही हुनुपर्ने माग चौतर्फी उठ्न थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *