केशरीको उपन्यास ‘दुङाल’ सार्वजनिक

काठमाडौं । साहित्यकार मालिका केशरीको उपन्यास ‘दुङाल’ सार्वजनिक भएको छ । शनिबार काठमाडौँमा भएको कार्यक्रममा इतिहासविद् एवं हिमाली अध्ययनका ज्ञाता डा. रमेश ढुंगेल, मानवअधिकारवादी सुदीप पाठक, पूर्वसचिव एवं साहित्यकार डा. सुधा शर्मा र आख्यानकार केशरीले संयुक्त रुपमा विमोचन गरेका हुन् ।

कार्यक्रममा मानवअधिकारकर्मी पाठकले उपन्यासले शरणार्थीको मानवअधिकार, न्याय र आत्मसम्मानको कुरा उठाएकोमा खुशी व्यक्त गरे । ‘उपन्यास पढ्दा पाठकलाई हरेक घटनामा आफू पनि सँगै रहेको भान हुन्छ । आप्रवासन या शरणार्थी हुनु रहर नभएर बाध्यता भएको कुरा उपन्यासले राम्ररी स्थापित गरेको छ । मानवअधिकारका दृष्टिले ‘दुङाल’ पाठकलाई रोचक र घोचक कोसेली हो‚’ उनले भने ।

दुंगालले तिब्बती समुदायको समस्यामात्र नउठाएर उनीहरुको न्याय र आत्मसम्मानको वातावरण बनाउनका लागि कर्तव्यबोध गराएको पाठकको भनाइ थियो ।

पूर्व स्वास्थ्य सचिव डा. शर्माले लेखक पुरुष भएर पनि महिलाका भावनाको गहिराइ छोएको र शरणार्थीको कथा गजबसँग उन्न सकेको भन्दै खुसी व्यक्त गरिन् ।  ‘शरणार्थी केटी कार्चुङको कथा उनकै आँखाबाट भनिएको छ । लेखक संवेदनशील हुने हो भने महिला पात्रले न्याय पाउने रहेछन् । अरु लेखक पनि मालिका केशरीजस्तो हुने हो भने मानवअधिकारमा पनि सुधार हुने रहेछ । यो उपन्यास समाजका यथार्थलाई चित्रण गर्न सफल छ । यो मननीय, संग्रहणीय र पठनीय छ‚’  उनले भनिन् ।

इतिहासविद् डा. ढुंगेलले ‘दुङाल’ले लगभग हराउन थालेको र बिर्सन लागेको शरणार्थी समस्यालाई केसरीले साहित्यमार्फत उजागर गरेको बताए । ‘साँच्चै भन्ने हो भने पछिल्लो समय शरणार्थी समस्या बिर्सन लागिसकेका थियौँ । उनीहरूका दुःख, पीर, वेदना र उकुसमुकुसलाई दुङालले अभिव्यक्त गरेको छ । आँखैले देखेजस्तो छ हरेक घटना । एक बसाइमा पढिसकिन्छ । अन्तिम अध्यायमा नपुगेसम्म पाठकलाई तानिरहन्छ‚’ उनले भने । उपन्यासले दुई भिन्न संस्कृतिबीचको अन्तरद्वन्द्व देखाउँदै आधुनिकता र परम्पराको समन्वयको खाँचो औँल्याएको छ उनको भनाइ छ ।

विमोचनमा आख्यानकार केशरीले आफ्नो बाल्यकालदेखिको शरणार्थी शिविरसँगको सामीप्यताका कारण ‘दुङाल’ जन्मेको बताए । ‘देशमा बस्न नसकेपछि जीवन खोज्दै यहाँ आइपुगेका शरणार्थीप्रति हामीले गरेको व्यवहार सही छन् त भन्ने प्रश्नले घचघचाएपछि उपन्यास नलेखी बस्न नसकेको केसरीको भनाइ छ ।

सांग्रिला बुक्सले प्रकाशन गरेको ‘दुङाल’ उनको तेस्रो उपन्यास हो । केशरीका यसअघि बौद्ध दर्शनमा आधारित उपन्यास ‘पुनरुत्थान’ र ‘सुवर्णलता’ प्रकाशित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *