४५ सालको भूकम्पको सम्झना : यस्तो थियो न्यूयोर्क टाइम्सको समाचार

काठमाडौं । विसं २०४५ भदौ ५ गते नेपालमा शक्तिशाली भूकम्प गयो । ६.९ रेक्टर स्केलको त्यो भूकम्पले नेपालको पूर्वी क्षेत्रका साथै उत्तरी बिहारलाई धेरै नै प्रभावित बनायो । करिब ७ सय नेपालीको ज्यान गएको भूकम्पले धरानमा धेरै नोक्सानी पुर्‍याएको थियो । उदयपुर केन्द्र बनाएर गएको भूकम्पताका नेपालका प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठ थिए । राजा वीरेन्द्र थिए ।

अहिलेजस्तो सूचनाको राम्रो प्रभाव नभएको जमाना थियो । अनलाइनको जमाना त छँदै थिएन । यस्तो अवस्थामा पनि नेपालको भूकम्पको समाचार दि न्यू योर्क टाइम्सको पहिलो पृष्ठमा आएको थियो । भक्तपुरको भत्किएको एक घरको तस्बिरसहित समाचार आएको थियो ।

यस्तो थियो समाचारः—

|नेपालमा गएको भूकम्पपछि न्यूयोर्क टाइम्समा आएको समाचार|

बिहान ४ बजे आएको भूकम्पको कम्पन ४५ सेकेन्ड चलेको भन्दै समाचारमा तत्कालीन समयमा भारतमा ४५० र नेपालमा २५२ जनाको ज्यान गएको लेखिएको छ । भदौ ६ गतेको न्यूयोर्क टाइम्स अखबारमा नेपालको गृह मन्त्रालयको सूचनालाई लिएर समाचार बनाइएको छ ।

समाचारमा धरानलाई शहर नभनेर जिल्ला भन्दै १५० जनाको ज्यान गएको उल्लेख गरिएको छ । नेपालमा रानीकी आमाको जन्मोत्सव रद्द गरिएको र बिहारका भूकम्प पीडित क्षेत्रमा तत्कालीन भारतीय प्रधानमन्त्री राजीव गान्धीले भ्रमण गर्ने तय भएको समाचारमा लेखिएको छ ।

|नेपालमा गएको भूकम्पपछि न्यूयोर्क टाइम्समा आएको समाचार|
|नेपालमा गएको भूकम्पपछि न्यूयोर्क टाइम्समा आएको समाचार|

भारतमा १० हजारभन्दा धेरै र नेपालमा १ हजार भन्दा धेरै घाइते भएको समाचारमा उल्लेख गरिएको छ । त्यो समाचार भारतको राजधानी दिल्लीबाट सञ्जय हजारिकाले लेखेका थिए । भक्तपुरको भूकम्पले क्षतिग्रस्त भवनको तस्बिर भने बेलायती समाचार एजेन्सी रोयटर्सबाट साभार गरिएको छ ।

तर, फोटोपत्रकार को थिए भनेर खुलाइएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *