इटहरीमा अब घरमै बसेर कर तिर्ने व्यवस्था

विराटनगर । इटहरी उपमहानगरपालिकाले नागरिकको समस्यालाई ध्यानमा राखेर घरबाटै कर तिर्न सक्ने व्यवस्था गरेको छ । घरमा बसेर मोबाइलबाटै सम्पत्ति कर, व्यवसायकर, घर वहालकर तिर्न मिल्ने गरी सफ्वेयर सिस्टम शुरु भएको हो ।
इटहरीका नगरप्रमुख द्वारिकलाल चौधरीले आफूले तिर्नुपर्ने कर तिरेर करदाता पोर्टलको शुभारम्भ गरेका हुन् । करदाता पोर्टलको शुभारम्भसँगै घुँडाको अपरेसन गरेर घरमै स्वास्थ्यलाभ गरेकी उपमेयर लक्ष्मी गौतमले उनले आफ्नो तिर्नुपर्ने कर घरबाटै भुक्तानी गरेर शुरु गरिन् ।
मेयर चौधरीले इटहरी उपमहानगरपालिकालाई पेपरलेस बनाउने अवधारणाअन्तर्गत अनलाइनबाटै कर तिर्ने सेवा शुरु गरिएको बताए ।
चुनावी घोषणा पत्रमा गरिएको प्रतिबद्धताअनुसारको काममा आफू लागेको दाबी गर्दै चौधरीले नागरिकसँग भएका प्रतिबद्धता ७५ प्रतिशत कार्यान्वयन गरिसकेको दाबी गरे । घरबाटै कर तिर्न पाउनु पनि विकासको एउटा महत्वपूर्ण खुट्किलो र पारदर्शिताको अंग रहेको बताए ।

राजस्व प्रशासन शाखा प्रमुख नविन भट्टराईले मोबाइलबाटै कति कर तिर्नुपर्ने हो भनेर लेखाजोखा गर्न र तिरिसकेपछि बिल प्रिन्ट गर्न सकिने बताए । नागरिकले करभुक्तानी गरेपछि सम्बन्धित व्यक्तिको इमेलमा बिल आउनेछ । मोबाइलमा तत्काल जानकारी आउने उमहानगरपालिकाले जनाएको छ ।
घरमै बसेर यसरी तिर्न सकिन्छ कर
सबैभन्दा शुरुमा इटहरी उपमहानगरपालिकामा करदाताको रुपमा दर्ता हुनुपर्नेछ । दर्ता हुँदा अनिवार्य रुपमा मोबाइल नम्बर र इमेल ठेगाना उपलब्ध गराउनुपर्छ । त्यसपछि नगरपालिकाले करदाता संकेत उपलब्ध गराउछ । इटहरी उपमहानगरपालिकाको वेबसाइटमा गएर त्यहाँ विद्युतीय शुसासन सेवामा क्लिक गरेपछि करदाता पोर्टल खुल्ने उपमहानगरपालिकाले जनाएको छ ।
नगरपालिकाले उपलब्ध गराएको संकेत प्रयोग गरेर आफूलाई त्यहाँ रजिस्टर गर्नुपर्छ । एसएमएस तथा इमेल भेरीफीकेसनपछि युजरनेम र पासवर्ड प्राप्त हुन्छ । त्यहि युजरनेम र पासवर्डको प्रयोग गरी संसारको कुनै पनि कुनाबाट ईसेवा वा खल्तिको प्रयोग गरी कर तिर्न सकिने कर अधिकृत भट्टराईले बताए । आफनो व्यक्तिगत विवरण‚ सम्पति विवरण, व्यवसायसम्बन्धि विवरण, बहालको विवरण, कर तिर्नुपर्ने तथा तिरेको विवरण हेर्न सकिनेछ ।









