धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीलाई कारबाही गर्न निर्देशन

काठमाडौँ । संसदीय समितिले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से)का पदाधिकारीहरुलाई तत्काल कारबाही प्रक्रिया अघि बढाउन र समितिलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ ।
शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकले बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पदीय आचरणविपरित सेयर कारोबार गरेको भन्दै कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो ।
बोर्डका अध्यक्ष ढुंगाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदले आफ्ना परिवारको सदस्यहरूको नाममा सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको आरोप लागेको भन्दै समितिले तत्काल छानबिन गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयलाई ध्यानाकर्षणसमेत गराएको छ ।
बैठकमा नियमक निकायबाटै शेयर बजारमा विकृति भित्र्याउने काम गरेको सुनिएको उल्लेख गर्दै अर्थमन्त्री शर्माले त्यसलाई नियन्त्रण गर्न सरकारले मन्त्रीस्तरीय निर्णय गरेर छानबिनका लागि ५ सदस्यीय समितिसमेत बनाएको समितिलाई जानकारी दिए ।








