नेपाल समूहद्वारा ‘नेकपा एकीकृत समाजवादी’ दर्ताका लागि निवेदन

नामबाट हट्यो ‘एमाले’

काठमाडौं । माधवकुमार नेपाल समूहले दल दर्ताका लागि निर्वाचन आयोगमा पुनः निवेदन दिएको छ । गत बुधबार नै नेकपा एमाले (समाजवादी) नामक दल दर्ताका लागि निवेदन दिएको निवेदन संशोधित दलसम्बन्धी ऐनको ‘फर्म्याट’मा नभएको भन्दै आयोगले ‘अर्को नाम लिएर आउनू’ भनेपछि समूहले नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी नाम लिएर दर्ताका लागि निवेदन दिएको हो ।

नेतृ निरुदेवी जैरूकीअनुसार समूहले शुक्रबार (आज) दल दर्ताका लागि निवेदन दिएको हो । ‘निर्वाचनको आग्रहअनुरूप हामीले नयाँ नामबाट दर्ता गर्न निवेदन दिएका हौँ,’ जैरूले भनिन्, ‘यो नाम आयोगमा दर्तामा रहेको कोहीसँग नमिल्ने भएपछि यसैलाई अन्तिम बनायौँ हामीले ।’

गत बुधबार जारी भएको अध्यादेशमा महाधिवेशनबाट चुनिएका केन्द्रीय सदस्यको २० प्रतिशतले पार्टी विभाजन गर्न पाउने व्यवस्था गरेको छ । नेकपा एमालेको महाधिवेशनबाट २०३ जना केन्द्रीय सदस्य बनेका थिए । २०३ को २० प्रतिशत ४१ जना हुन्छ । बुधबार आयोगलाई दिएको जानकारी पत्रमा नेपाल समूहले महाधिवेशनबाट आएका ५८ केन्द्रीय सदस्यले नयाँ पार्टी बनाउन लागेको उल्लेख गरेका छन् ।

यसरी सबै कुरा तीव्र गतिमा अघि बढे अबको १० दिनमा माधवकुमार नेपाल नेतृत्वको नयाँ पार्टी दर्ता हुने आयोग श्रोतले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *