‘सभामुख पूर्वाग्रही देखिनुभयो, एमाले चुप बस्दैन’

काठमाडौं । नेकपा (एमाले) कि सचेतक शान्ता चौधरीले प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा पूर्वाग्रही बनेको आरोप लगाएकी छन् । ‘उहाँ (सभामुख) मा पूर्वाग्रह देखियो,’ १४ सांसद कारबाही सम्बन्धमा सभामुखको ध्यानाकर्षण गराउन सभामुख कक्ष सिंहदरबार पुगेकी सचेतक चौधरीले भनिन्, ‘अझै यस्तै गतिविधि दोहोरियो भने एमाले चुप लागेर बस्दैन ।’

सचेतक चौधरीसँगै गोकुलप्रसाद बाँस्कोटा, खगराज अधिकारी, लालबाबु पण्डितलगायतका नेताहरु शुक्रबार (आज) पनि सभामुख सापकोटालाई भेट्न उनकै कार्यकक्ष पुगेका थिए । तर, सभामुख सापकोटा भेटिएनन् । उनले फोनबाटै भने, ‘म आउँदिनँ । कार्यव्यवस्तताका कारण म भ्याउँदिनँ । मेरो ध्यानाकर्षण भयो । तपाईंहरु फर्किनुस् ।’ नेता लालबाबु पण्डितकाअनुसार सभामुख सापकोटासँग फोनमै केही छिन चर्काचर्कीसमेत परेको थियो । ‘उहाँले मेरो ध्यानाकर्षण भयो भनेको सुन्नुभएन भनेर भन्नभुयो,’ सभामुख सापकोटालाई उद्धृत गर्दै नेता पण्डितले भने, ‘त्यसपछि केहीबेर फोनमै चर्काचर्की परेको हो ।’

एमालेको सन्दर्भमा पार्टीले गरेको निर्णय कार्यान्वयमा सभामुख सापकोटा पूर्वाग्रही देखिएको एमाले नेताहरुको आरोप छ । ‘एमालेका केही सांसदहरले जे गरे र पार्टीले जुनखाले निर्णय गर्यो, त्यो चाँडोभन्दा चाँडो कार्यान्वयन हुनुपर्छ,’ नेता पण्डितले भनेका छन् ।

गत भदौ १ गते बसेको एमालेको स्थायी कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहितका १४ जना नेतालाई कारबाही गरेको छ ।  संसदीय अभ्यासअनुसार सांसदमाथिको कारबाहीबारे सभामुखले संसद्मा वा सूचना टाँस गरी जानकारी दिने व्यवस्था छ । तर, सभामुख सापकोटाले त्यो गरिसकेका छैनन् । यसपछि एमालेले लगातार सभामुख सापकोटाको ध्यानाकर्षण गराउँदै आएको छ । यसअघि बिहीबार मात्रै पनि नेताहरु सभामुख कार्यकक्ष पुगेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *