सभामुखलाई एमालेको ताकेता, कारबाहीको सूचना टाँस गर्न माग

काठमाडौं । पार्टीले कारबाही गरेका सांसदलाई पदमुक्त गरेको सूचना तत्काल टाँस गर्न माग गर्दै नेकपा एमालेका सांसदहरु सभामुख अग्निप्रसाद सापकोटाको कार्यकक्ष पुगेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा एमाले सांसदहरु पुगेर कारबाही प्रक्रिया अघि बढाउन दबाब दिएका हुन् ।

यसअघि एमालेको स्थायी कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहितका १४ जना सांसदलाई कारबाही गरेको थियो । उक्त सूचना सभामुखबाट आउनुपर्ने संसदीय व्यवस्था छ । तर, सभामुख सापकोटाले सोबारे केही सूचना निकालीसकेका छैनन् । यसपछि नेताहरुले ध्यानाकर्षण गराएका हुन् ।

सभामुखकहाँ खगराज अधिकारी, गोकुलप्रसाद बाँस्कोटा, लालबाबु पण्डित, शान्ता चौधरी, थममाया थापा, निरु पाल, राजेन्द्र गौतम, कृष्ण पोखरेललगायत छन् । कारबाहीमा परेका १४ जना सांसदहरुलाई चाँडो पदमुक्त गर्न माग गर्दै बिहीबार पनि एमालेका मुख्य सचेतक विशाल भट्टराईलगायतका नेताहरु सभामुखलाई भेट्न सिंहदरबार पुगेका थिए । ‘किन ढिलाइ ?’ भन्ने प्रश्नमा सभामुख सापकोटाले ‘चाँडै टुङ्ग्याउँछु’ भनेर जवाफ दिएका थिए ।

बिहीबार नै पार्टी अध्यक्ष केपी शर्मा ओलीले सभामुख सापकोटालाई न्यायाधीश वा माओवादीजस्तो ‘नपल्टिन’ चेतावनी दिँदै १४ जनामाथिको कारबाहीको सूचना तत्काल नटाँसिए संसद् चलाउन नदिने बताएका थिए ।

कारबाही गरिएको ब्यहोराको पत्र दर्ता भएको १५ दिनभित्र संसद् चलेको भए सदनमा सभामुखले जानकारी गराउने नभए सूचना टाँस गरेर जानकारी गराउने संसदीय अभ्यास छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *