टी सिरिज स्टेज वर्क्स ‘ट्यालेन्ट हन्ट’ भदौ ११ बाट प्रशारण हुने

काठमाडौँ । गायन, नृत्य र अभिनय प्रतिभा छान्ने अनलाइन रियालिटी शो ‘ट्यालेन्ट हन्ट’ भदौ ११ गतेबाट सुरु हुने भएको छ । भारतीय संगीत क्षेत्रमा स्थापित टी सिरिज स्टेज वर्क गुहावटी र टी सिरिजको शैक्षिक पहलसँगको सहकार्यमा शो सञ्चालन हुन लागेको हो ।
नेपालका लागि अधिकारिक प्रतिनिधि काइजेन इङ्क प्रालिको आयोजनामा नाइस टेलिभिजन एचडीमार्फत युनिक डिजिटल अनलाइन ट्यालेन्ट हन्ट रियालिटी शो हुन लागेको हो । भदौ ११ गतेदेखि प्रत्येक शुक्रबार र शनिबार राति ८:४५ बजे नाइस टेलिभिजनमा प्रशारण हुने बताइएको छ ।
डिजिटल पेमेन्टको क्षेत्रमा आफ्नो दरिलो उपस्थिति जनाइरहेको कम्पनी डिजी पे मुख्य प्रयोजक रहेको ट्यालेन्ट हन्ट प्रतियोगितामा तीनवटै विधाका विजेतालाई भारतस्थित टी सिरिज स्टेज वर्क गुहावटीमा काइजेन इङ्कका तर्फबाट १० लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
प्रमुख विजेताले शतप्रतिशत, उपविजेताले ७५ प्रतिशत र तेस्रो स्थान हासिल गर्नेले पनि संगीत, नृत्य वा अभिनय प्रशिक्षणमा ५० प्रतिशत छात्रवृत्ति पाउने आयोजक टीमले बताएको छ । विजेता तथा प्रतिस्पर्धीले उपाधिसँगै प्रायोजकहरूबाट आकर्षक उपहारहरू समेत प्राप्त गर्ने आयोजकको भनाइ छ ।

प्रतियोगितामा नेपाली र भारतीय चलचित्र तथा संगीत उद्योगका हस्तीलाई निर्णायक राखिएका छन् भने प्रत्येक शृंखलामा तीनवटै विधाका दुई–दुई अलग निर्णायक रहनेछन् ।
डिजी पेका प्रबन्ध निर्देशक दिवाकर पाण्डेले आफूमा लुकेको प्रतिभालाई बाहिर ल्याउन ट्यालेन्ट हन्ट शो बलियो आधार हुने बताए । टी सिरिज जस्तो भारतकै ठूलामध्ये पर्ने मनोरञ्जन कम्पनीको सहयकार्यमा हुन गइरहेको यो प्रतियोगिता गायन, नृत्य र अभिनय क्षमता भएर पनि बाहिर आउन नसकेका प्रतिभाहरूका लागि उत्कृष्ट ‘प्लेटफर्म’ हुने पाण्डेको भनाइ छ ।
पाण्डेका अनुसार यो प्रतियोगिता सबै डिजिटल (अनलाइन) माध्यमबाट हुनेछ । प्रतियोगीले आफ्ना प्रतिभाको भिडियो आफैँ तयार गरेर पठाउनुपर्नेछ भने निर्णायकले पनि अनलाइनबाटै मूल्यांकन गरी विजेता छनोट गर्नेछन्। कोरोना भाइरस महामारीका बेला यसबाट स्वास्थ्य मापदण्ड पनि पालना हुनेछ ।
त्यसैगरी काइजेन इङ्ककी कार्यकारी अधिकृत सुष्मा मानन्धरले कार्यक्रमपछि आफ्नो प्रतिभा थप निखार्न काइजेन इङ्कमा सम्पर्क गरी टी सिरिज स्टेज वर्क गुहावटीमा आफूलाई रोजेको विषयमा अध्ययन गर्न सकिने जानकारी दिइन् ।
आयोजकका अनुसार अनलाइन अडिसनबाट छनोट भएका १ सय २० प्रतीस्पर्धीबीच तीन चरणबाट खारिएका प्रतिभाले ग्रान्ड फिनालेमा आफ्नो प्रस्तुति देखाउने आयोजकले बताएको छ ।
सेलेब्रिटी गेस्ट जज
आयोजकका अनुसार प्रत्येक राउन्डमा तीन विधा हुने र हरेक राउन्डमा विभिन्न सेलेब्रिटी जजहरूले प्रतिस्पर्धीको मूल्यांकन गर्नेछन् । प्रत्येक विधामा १४ विशिष्ट सेलेब्रिटी जजहरूले प्रतिस्पर्धीको मूल्याङ्कन गर्नेछन् । आयोजकले जजहरूको समूहलाई ‘टिम अफ मेगा जजेज’ नाम दिएको छ ।
विशिष्ट सेलेब्रिटी जजहरूलाई यो प्रतियोगितामा संलग्न गराउन पाउँदा भिन्नैखालको सम्मान र गौरव महसुस भएको आयोजकको भनाइ छ ।








