‘राजनीतिक दलसम्बन्धी अध्यादेश दिउँसोसम्म जारी हुनसक्छ’

विज्ञहरुसँग छलफलसमेत गर्नुपर्ने हुन्छ

काठमाडौं । राष्ट्रपति कार्यालय शीतलनिवास पुगेको सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश आजै जारी हुनसक्ने भएको छ । कार्यालयका प्रवक्ता जगन्नाथ पन्तकाअनुसार अध्यादेशबारे राष्ट्रपति सचिवालयले थप अध्ययन गरिरहेको छ । ‘अध्यादेश हिजो साँझसम्म आएको जानकारीमा छ,’ प्रवक्ता पन्तले मकालुखबरसँग भने, ‘जारी गर्ने वा नगर्ने भन्नेबारे निर्णय विस्तृत अध्ययनपछि मात्रै हुन्छ होला ।’

राष्ट्रपति सचिवालयका एक अधिकारीले भने अध्यादेश आजै दिउँसोसम्ममा जारी हुने संकेत गरे । ‘अध्ययन पनि भइरहेको छ,’ ती अधिकारीले भने, ‘साथमा छलफलसमेत भइरहेको छ । जारी गर्ने वा नगर्ने, अथवा जारी गर्दा त्यसले राष्ट्रिय राजनीतिमा कस्तो असर पार्छ, राजनीतिक दलहरुबीच कस्तो खाले नजिर स्थापित गर्छ भन्नेलगायतका यावत् विषयमा छलफल भइरहेको छ । हुन त सरकारले सिफारिस गरिसकेको विषय हो । सायद आजै भरै दिउँसोसम्ममा जारी हुन पनि सक्छ ।’

मंगलबार (हिजो) बसेको मन्त्रिपरिषद् बैठकले कुनै पनि राजनीतिक दलका सदस्यले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत बहुमत पुर्याएर नयाँ दल खोल्न पाउने व्यवस्था गरेको छ ।

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले यस्तो अध्यादेश जारी भए प्रतिवाद गर्ने चेतावनी दिएको छ । आफ्नो पार्टीमा विवाद भइरहेका बेला वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई पार्टी फुटाउन सजिलो हुनेगरी अध्यादेश ल्याइएको अध्यक्ष केपी शर्मा ओली पक्षको बुझाइ छ ।

एमाले विभाजन गर्न सजिलो हुनेगरी ल्याइएको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालै जारी गर्छिन् कि गर्दिनन् भन्नेमा चासो छ ।  अध्यादेश हिजो नै राष्ट्रपतिसमक्ष प्रस्तुत भइसकेको थियो । तर, राष्ट्रपति कार्यालयले कार्यव्यस्तताको कारण देखाउँदै जारी गरिसकेको छैन ।

संसद्को चालू अधिवेशन हठात् अन्त्य गरी सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेश तीव्र आलोचना भइरहेको छ । सत्तारूढ नेपाली कांग्रेसका नेतादेखि गठबन्धनका नेताहरुले समेत विरोध जनाएका छन् । अध्यादेशको विरोध भइरहेकाले राष्ट्रपतिले यसलाई जारी गर्ने कि नगर्ने भन्नेबारे विज्ञहरूसँग छलफल पनि गर्न सक्ने ती अधिकारीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *