अफगानिस्तानबाट फर्कन २५६ नेपालीले भरे विवरण

काठमाडाैँ । विद्रोही समूह तालिबानले सत्ता कब्जा गरेको अफगानिस्तानबाट फर्कनका लागि मंगलबार साँझसम्म २५६ जना नेपालीले सरकारलाई विवरण दिएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार कन्सुलर सेवा विभागको वेब पोर्टलमा मंगलबार साँझ ५ बजेसम्म २५६ जना नेपालीले आफ्नो विवरण दर्ता गरेका हुन् ।
अफगानिस्तानमा रहेका नेपालीलाई कन्सुलर सेवा विभागको बेभसाइटमा अनलाइन पोर्टलमा रहेको नामसहितका विवरण दर्ता गर्न भाइबर र ह्वाट्एप सुविधासहितको मोबाइल नम्बर उपलब्ध गराइएको छ । ती नम्बरमा कन्सुलर सेवा विभागको ९७४९३२६४५८, परराष्ट्र मन्त्रालयको ९७४९३२६४५९ र नेपाली दूतावास नयाँ दिल्लीको ८९२९६०१९२५ छन् ।
ती नम्बरको प्रयोग गरी आफ्नो विवरण टिपाउन अनुरोध गरिएको छ । उद्धारको पखाईमा रहेका नेपालीलाई उद्धार नहुँदासम्म जो जहाँ रहनुभएको छ, तोकिएको सम्पर्क नम्बरमा सम्पर्कमा रहन तथा एक आपसमा त्यहाँ रहेका नेपालबीच उपलब्ध माध्यमबाट सूचना आदानप्रदान गर्न र सुरक्षित रहन परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ ।
उद्धार गर्ने कार्यमा संस्थागत रुपमा अफगानिस्तानमा रोजगारीका लागि नेपाली नागरिक पठाउने वैदेशिक रोजगार व्यवसायीलाई उद्धार प्रक्रिया सहयोग गर्न आग्रह गरिएको छ । मन्त्रालयले त्यहाँ रहेका र सम्पर्कमा आएकामध्ये केही नेपाली नागरिकले अफगानिस्तानको पछिल्लो अवस्था आँकलन गरी आफ्नो नियमित काममा फर्किएको जानकारी जानकारी गराएका छन् । उद्धार कार्यका लागि मन्त्रालयको शिष्टाचार महाशाखाअन्तर्गत नायब शिष्टाचार महापालको नेतृत्वमा फोन नम्बर र इमेल ठेगानासहितको ‘सिच्यूशन रुम’ को स्थापना गरिएको छ ।
नयाँ दिल्लीस्थित नेपाली दूतावासबाट अफगानिस्तानमा रहेका नेपाली नागरिक, कूटनीतिक नियोग, संयुक्त राष्ट्र सङ्घ तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग उद्धारका लागि नियमित सम्पर्क र समन्वय भइरहेको मन्त्रालयले जनाएको छ । अफगानिस्तानको विकसित पछिल्लो घटनाक्रमका कारण रोजगारीमा रहेका नेपालीको अवस्था यकिन गरी आवश्यक समन्वयका साथ उद्धार कार्यका लागि मन्त्रालयका मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखा प्रमुखको संयोकत्वमा गठित कार्यदलको दोस्रो बैठक मंगलबार बसेको मन्त्रालयले जनाएको छ ।








