अफगानिस्तानको राजनीतिक परिवर्तनबारे चीन : तालिबानले तनाव हुँदैन

काठमाडौँ । आगामी सेप्टेम्बर ११ भित्र सबै अमेरिकी सैनिकलाई फिर्ता लाने अमेरिकी योजना भएपनि त्योभन्दा अगाडि नै लगभग सबै सेना अमेरिकाले फिर्ता लगेको छ । आइतबार तालिबानले काबुल पुगेर राष्ट्रपति भवन कब्जा गरेपछि अमेरिकाले हवाई उद्धार गरेर आफ्ना नागरिक फिर्ता लग्यो ।

छिमेकी अफगानिस्तानमा भइरहेको राजनीतिक उथलपुथलबारे चीनको हेराइ रोचक र अर्थपूर्ण छ । सन् २००१ को सेप्टेम्बर ७ बाट अमेरिकाले काबुलमा बम वर्षक विमानहरूले हमला गर्दा चीनले अमेरिकाको त्यो कदमको विरोध गर्‍यो । डिसेम्बर पहिलो हप्तामा तालिबान सत्ता ढालेर अमेरिकी सेना आएपछि झनै कुद्ध थियो चीन । आफ्नो छिमेकी देशमै अमेरिकी सेना आएकोमा चिनियाँ चिन्ता एक कोणमा स्वभाविक मान्न सकिन्थ्यो ।

तर, अहिलेको अमेरिकी सेनाको फीर्तिमा समेत चीन ‘बेखुस’ छ । यसको कारण भने अमेरिकी सेना अफगानिस्तानबाट फर्किएपछि चीनमा अस्थितरता बढ्ने आकलन गरिएको छ । चीनको झिनजियाङ प्रान्तमा इस्लामिक विद्रोहीहरूले टाउको उठाउने चिनियाँ चिन्ता छ । चिनियाँ मिडियामा अहिले अमेरिकी बहिर्गमनका कुराहरू तारन्तार आइरहेका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्सले आइतबार एक सम्पादकीय नै लेखेर अफगानिस्तानको पछिल्लो घटनाक्रमले ‘अमेरिकाको बिजोग भएको’ तर्क गरेको छ । सन् १९८० को दशकको सोभियत संघको भन्दा धेरै ठुलो हार अमेरिकाले अफगानिस्तानमा भोगेको भन्दै पत्रिकाले ‘अमेरिका हारेको’ लेखेको छ । विदेशबाट कुनै सहयोग नपाएरै २० वर्ष अमेरिकासँग युद्ध गरेर देखाएकाले अमेरिका कागजी बाघमात्रै भएको देखिएको समेत ग्लोबल टाइम्सले जिकीर गरेको छ ।

अमेरिकी तथा पश्चिमा मिडियाहरुले अब चीनले ईस्ट तुर्कमेनिस्तानमा इस्लामिक गतिविधि बढाउने भनेको कुरालाई पनि ग्लोबल टाइम्सको सम्पादकीयले खण्डन गरेको छ । ‘चीनको जनमुक्ति सेनाले झिनजियाङमा चरोमुसो छिर्न नसक्ने निगरानी गरेको’ भन्दै सम्पादकीयले चीनलाई तालिबानले तनाव नहुने दाबी पनि गरेको छ । यस्तै, अमेरिकाको ठाउँ लिन चीन इच्छुकसमेत भएको पत्रिकाले दाबी गरेको छ ।

चीनको विश्व टेलिभिजन सेवा सिजिटिएनको अनलाइनले भने अब ‘अमेरिकामुक्त अफगानिस्तान हुनुपर्ने’मा जोड दिएको छ । हुवाङ जियाङले लामो लेख लेख्दै सिरिया, लिबियाजस्तै अफगानिस्तानलाई पनि ‘अमेरिका छिरेर ध्वस्त पारेको’ दाबी गरेका छन् ।

अफगानिस्तान असफल हुनु अमेरिकाको पहिलो र अन्तिम उदाहरण नभएको भन्दै उनले अब अमेरिकामुक्त अफगानिस्तान हुनुपर्नेमा जोड दिएका छन् । एसिया फाउन्डेसनको एक सर्वेक्षण देखाउँदै उनले ८९ प्रतिशत अफगान तालिबानसँग वार्ता गर्नुपर्ने पक्षमा भएको र ६४ प्रतिशत जनता अफगान सरकार र तालिबानको मेलमिलापको पक्षमा भएको भन्दै त्यो सम्भव हुने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 5 =