प्रदेश २ : को हुन् प्रदेश प्रमुखमा सिफारिस गरिएका मिश्र ?

जनकपुरधाम । पूर्ववर्ती सरकारले गरेका विभिन्न निर्णय तथा नियुक्तिहरू रद्द गर्ने तथा उल्ट्याउने क्रममा सरकारले प्रदेश २ का प्रदेश प्रमुख परिवर्तन गरेको छ । केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका प्रदेश प्रमुख राजेश झा ‘अहिराज’लाई सोमबार बर्खास्त गर्दै कांग्रेस नेता हरिशंकर मिश्रलाई नियुक्तिका लागि सिफारिस गरेको छ ।

प्रदेश २ का तत्कालीन प्रदेश प्रमुख तिलक परियारलाई हटाएर ओली नेतृत्वको सरकारले अहिराजलाई ०७७ फागुन ७ मा प्रदेश प्रमुखमा नियुक्त गरेको थियो । परियार माओवादी कोटाबाट प्रदेश प्रमुख भएका थिए भने ओली निकट अहिराज एमाले कोटाबाट प्रदेश प्रमुख बन्न सफल भएका थिए ।

त्यसअघि प्रदेश २ को पहिलो प्रदेश प्रमुखको रुपमा रत्नेश्वर लाल कायस्थलाई नियुक्त गरिएको थियो । उनी उपेन्द्र यादवको कोटाबाट प्रदेश प्रमुख बनेका थिए ।

कांग्रेस कोटाका मिश्र नियुक्त भएपछि उनी प्रदेश २ का चौथो प्रदेश प्रमुख हुनेछन् । चारै प्रदेश प्रमुखमध्ये परियार बाहेक तीनैजना मधेशका उच्च जातका मानिन्छन् । परियार दलित समुदायका हुन् ।

को हुन् मिश्र ?
वि.सं. २००२ सालमा महोत्तरीको पिपरामा जन्मेका हरिशंकर मिश्र प्रदेश प्रमुखको नियुक्तिका लागि सिफारिस भएका छन् ।

करिब ६ दशकदेखि राजनीतिमा सक्रिय मिश्र बीपी कोइरालाका समकक्षी कांग्रेसी नेता रामनारायण मिश्रका छोरा हुन् । ०१६ मा बीपी नेतृत्वको सरकारमा रामनारायण उद्योग मन्त्री थिए । राजा महेन्द्रले पञ्चायती व्यवस्था लागू गरेपछि रामनारायणलाई समेत बीपीसँगै सुन्दरीजल कारागारमा राखेर बन्दी बनाइयो ।

बुबा जेल परेपछि ०१९ सालबाट राजनीतिमा हरिशकंर सक्रिय भए, जतिबेला उनी ९ कक्षामा अध्ययनरत थिए । प्रजातन्त्र दिवसको अवसरमा झण्डा फहराएको भन्दै मिश्रलाई समेत पक्राउ गरेर जलेश्वर कारागारमा राखियो । नाबालकलाई कारावासमा राखिएको विषयमा व्यापक आलोचना भएपछि अढाइ महिनामा उनी जेलमुक्त भए ।

मुलुकमा प्रजातन्त्रको पुर्नवहालीपछि ०४८ मा महोत्तरीको तत्कालीन निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा पहिलोपटक विजयी भए । तर‚ त्यसपछिका दुईवटा निर्वाचनमा उनी असफल भए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *