६ वर्षपछि इलाका प्रशासनबाट नागरिकता दिन शुरु

हुम्ला । हुम्लाको दक्षिण भेगका चारवटा गाउँपालिकाका नागरिकलाई सेवा दिने हेतुले स्थापना भएको इलाका प्रशासन कार्यालय सर्केगाडले ६ वर्षपछि आइतबारदेखि सेवा दिन सुरु गरेको छ ।
सर्केगाड, चङ्खेली, अदानचुली र ताँजकोट गाउँपालिकाका नागरिकलाई नागरिकतालगायत अन्य सिफारिसका लागि तीनदेखि चार दिनको पैदल हिँडेर सिमकोट पुग्नुपर्ने बाध्यता हटोस् भन्ने उद्देश्यले इलाका प्रशासन कार्यालय स्थापना भएपछि आइतबारदेखि यहाँका नागरिकले नागरिकता पाएका छन् ।
सर्केगाड गाउँपालिकामा विसं २०७३ असार ३० गते स्थापना भएको इलाका प्रशासन कार्यालयमा ६ वर्षपछि आधिकारिक रूपमा कार्य सञ्चालन सुरु भएको हो ।
चारवटा गाउँपालिकाका नागरिकलाई प्रशासनिक सेवासुविधा सहजरूपमा प्रदान होस् भन्ने उद्देश्यले गृहमन्त्रालयको निर्णयानुसार निजामती सेवा ऐन, २०४९ को दफा १३ बमोजिम कार्यालय प्रमुख उपस्थित नभएसम्मका लागि ६ महिनाको कामु शाखा अधिकृतको जिम्मा नायब सुब्बा भीमबहादुर रोकायालाई दिइएकोे छ ।
नागरिकता र अन्य सिफारिस लिनका लागि पैदल हिँडेर सदरमुकाम सिमकोटमा जानुपर्ने बाध्यता भएको भए पनि आइतबार सर्केगाडमै नागरिकता पाउँदा खुसी भएको चङ्खेली गाउँपालिका-४ निवासी मनिषा रावलले बताइन् ।
कामु शाखा अधिकृत रोकायाले आइतबार पद सम्हालेपछि पहिलो दिन पाँच जनालाई नयाँ र दुई जनालाई प्रतिलिपि गरी सात जना सेवाग्राहीलाई सेवा दिइएको बताए ।








