गण्डकीमा पनि आलोपालो मुख्यमन्त्री पाउनुपर्ने माओवादी नेताको माग

काठमाडौं । माओवादी केन्द्रभित्र गण्डकी प्रदेशमा पनि आलोपालो मुख्यमन्त्री पाउनुपर्ने माग उठेको छ । काठमाडौंमा बसेको केन्द्रीय कमिटी बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य हितराज पाण्डेले भने, ‘प्रदेशमा चुनावमा नेपाली कांग्रेससँग नै प्रतिस्पर्धा हुने हो । गण्डकीमा पनि लुम्बिनीमा जस्तै आलोपालो मुख्यमन्त्री पाउनुपर्ने माग छ । यो विषयमा नेतृत्वपङ्तिमा विचार गरियोस् ।’

लुम्बिनी प्रदेशमा माओवादी–कांग्रेसबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भइसकेको छ । यस्तैगरी गण्डकी प्रदेशमा पनि कांग्रेस–माओवादीले आलोपालो सरकारको नेतृत्व गर्न पाउनुपर्ने कुरा उठेको माओवादीका नेताहरुले बताएका छन् । गण्डकीमा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार ढलेपछि नेपाली कांग्रेस गण्डकीका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा सरकार बनेको छ । अहिलेसम्मको सहमतिअनुसार गण्डकीमा पूरै कार्यकाल पोखरेल नै मुख्यमन्त्री रहनेछन् ।

उता लुम्बिनीमा शंकर पोखरेल नेतृत्वको सरकार ढलेपछि माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसी ‘सोनाम’ को नेतृत्वमा सरकार बनेको छ । जहाँ, माओवादी–कांग्रेसबीच पालैपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ । सहमतिअनुसार बहालवाला मुख्यमन्त्री केसीले आउँदो फागुन २ गतेदेखि कांग्रेसका संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियालाई मुख्यमन्त्री पद हस्तान्तरण गर्नुपर्नेछ ।

लुम्बिनीमा सरकारको नेतृत्व आधा–आधा कार्यकाल गर्ने सहमति भएपछि गण्डकीका नेताहरुले पनि लुम्बिनीमा जस्तै सहमति हुनुपर्ने माग अगाडि बढाएका हुन् । लुम्बिनीमा जस्तै गण्डकीमा पनि कांग्रेससँग सहमति हुनुपर्ने माग राख्नुभएको हो ? मकालुखबरको जिज्ञासामा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले भने, ‘दुवैतिरको अवस्था उस्तै हो । एउटामा कांग्रेस ठूलो दल हो भने अर्कोमा माओवादी हो । यस्तो अवस्थामा लुम्बिनीमा चाहिँ सरकारको नेतृत्व पालैपालो गर्न पाउने भन्दा गण्डकीमा उस्तै गरौँ न त भनेर हामीले भनेका हौँ ।’

त्यसो त आफूहरुले बलजफती नगरेको नेता चुमानको भनाइ छ । ‘यो कुरा पार्टीको केन्द्रीय कमिटी बैठकमा समेत उठेको छ,’ नेता चुमानले भने, ‘त्यसमा केहीबेर छलफलसमेत भयो ।’

यो विषयमा मुख्य नेतृत्वमा कुराकानी हुनुपर्ने नेता चुमानको भनाइ छ । ‘यो विषयमा प्रचण्डजी र शेरबहादुरजीबीच नै कुराकानी हुनुपर्छ । हामीले खाली नेतृत्वलाई सम्झाउने मात्रै हो ।’

प्रचण्डको प्रतिक्रिया के ?

यसबारे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने ठोस जवाफ दिइसकेका छैनन् । ‘त्यो विषय उहाँ (प्रचण्ड) ले गम्भीरतापूर्वक सुनिरहनुभएको थियो,’ एक केन्द्रीय सदस्यले मकालुखबरसँग भने, ‘त्यत्तिबेलै जवाफ दिने कुरा त भएन भोलिपर्सि यो विषयमा बोल्नुहोला ।’

गठबन्धन भत्किँदैन ?

लुम्बिनीमा जस्तै आलोपालोको माग राख्दा गठबन्धनलाई कुनै असर नपर्ने प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्यामन्त्री समेत रहेकी माओवादी नेतृ मधु अधिकारी गुरुङ् बताउँछिन् । ‘गर्दा सहमति, समझदारी गर्ने हो,’ नेतृ गुरुङले मकालुखबरसँग भनिन्, ‘त्यसो हुँदा बनेको गठबन्धन भत्किन्छ भन्ने लाग्दैन ।’

अहिलेको गठबन्धन ‘प्रतिगमन’विरुद्धको भएको र सत्तासाझेदारीमा कुनै खालको खलल नआउने नेतृ गुरुङको दाबी छ । भन्छिन्, ‘पहिले छलफल गर्ने हो, अनि कुरा मिल्यो भने सहमति गर्ने हो, समझदारी बनाउने हो । त्यसो हुँदा गठबन्धन भत्किँदैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *