महाकालीमा पुल निर्माणमा तुइनको सहारा, निर्माण कार्यमा ढिलाइ

धनगढी । भारतसँग जोड्ने महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माणमा ढिलाइ भएको छ । निर्माण सामग्री अभावलगायतका कारण विगतदेखि नै सुस्त देखिएको निर्माण कार्य यस वर्षको बाढीले पहुँचमार्गसमेत बगाएपछि थप ढिलाइ भएको छ ।

महाकाली नदीमा गत असार ६ गते आएको बाढीले पुलसम्म जोड्ने पहुँचमार्ग बगाइदिएको छ । पहुँचमार्ग बगाएपछि निर्माण सामग्री पुर्‍याउन नसक्दा निर्माण कार्यमा अवरोध भएको निर्माण कम्पनी कुमार सीएफईसी जेभीले जनाएको छ ।

पुल जोडने पहुँचमार्ग बाढीले बगाउँदा पुल निर्माणमा समस्या भएको पुल निर्माण कम्पनी कुमार सीएफईसी जेभीका म्यानेजर तथा इन्जिनियर किशोर पाण्डेले बताए । ‘पुल निर्माण कार्य जारी नै छ, तर जुन रफ्तारमा हुनुपर्ने हो हुन सकेको छैन,’ उनले भने, ‘पहुँचमार्ग नै बाढीले बगाइदिएपछि पुल निर्माणका लागि चाहिने सामाग्रीहरू पुर्‍याउन सकिएको छैन ।’ तुइनको माध्यमबाट सकिनेजति सामग्री पारि लैजाने गरिएको उनले बताए ।

गड्डाचौकीस्थित भारतको बनवासा जोड्ने पुल भएपनि त्यहाँबाट भारतीय पक्षले निर्माण सामाग्री लैजान नदिएको उनले बताए । ‘पारि सामान लैजाने अन्य विकल्प नहुँदा निर्माणाधीन पुलमै तुइन बनाएर त्यसकै माध्यमबाट निर्माण सामग्री लैजाने गरिएका छौं‚’ उनले भने । उनका अनुसार तुइनबाट सरिया, सिमेन्ट, बाइन्डिङ तार, कामदारका औजारलगायत सामग्री पारि पठाइने गरिएको छ ।

No description available.

‘अहिले यसैगरी काम चलिरहेको छ,’ उनले भने, ‘नदीमा पानी कम भएपछि पुलको दुवैतिर ड्याम बाँधेर ग्राभेल हालेर फेरि पहुँचमार्ग बनाउँछौँ । तबसम्मका लागि पुलबाट आवतजावत नै बन्द हुन्छ ।’ बाटो निर्माणको काम तिहारपछि मात्रै हुने उनले बताए ।

‘बाढीले बाटो नबगाएको भए अहिलेसम्म स्ल्याब ढलानको काम सकिथ्यो‚’ उनले भने । ‘पुलका ३२ मध्ये २८ स्ल्याब ढलान भइसकेको र बाँकी चारवटा स्ल्याब ढलानको तयारी भइरहेको छ‚’ उनले भने, ‘स्ल्याब ढलानको काम दशैँ अगावै सक्ने योजना छ ।’ बाँकी स्ल्याब निर्माणका लागि आवश्यक निर्माण सामग्री तुइनबाट ढुवानी भइरहेको उनले बताए ।

कुमार सीएफईसी जेभीले तीन अर्ब २७ करोडमा पुल निर्माणको ठेक्का लिएकोमा पछि संशोधित लागत तीन अर्ब ६६ करोड बनाइएको निर्माण कम्पनीले जनाएको छ । दुई वर्षमा निर्माण सम्पन्न हुनेगरी २०७४ भदौ ७ गते सम्झौता भएको पुल बन्द हड्ताल, कोरोना तथा पुलको डिजाइनका कारण यसअघि नै दुई पटक म्याद थप भइसकेको छ ।

यसपटक फेरि पुलको संरचना नै भत्काएपछि थप केही महिना निर्माण कार्यपछि धकेलिएको म्यानेजर पाण्डेको भनाइ छ । उक्त पुलको निर्माण म्याद २०७८ फागुन १५ गते सकिँदै छ । मिति सकिन करिब सात महिना बाँकी रहँदा पुलको करिब ७७ प्रतिशतसम्म काम सम्पन्न भइसकेको निर्माण कम्पनीले जनाएको छ ।

‘म्याद अवधि भित्रै बाटो र पुलको काम निर्माण सम्पन्न हुन्छ,’ ‘उनले भने, ‘तर पुलको दायाँ, बायाँ पोखरी निर्माण गर्नुपर्नेछ, ठूलो ढुङ्गा नभएकाले अहिलेसम्म काम भएको छैन त्यसैले समयमै काम नभ्याइन सक्छ ।’

आफूहरूले आठ किलो मिटर सडक कालोपत्रे गर्नुपर्नेमा हालसम्म तीन किलो मिटर सडक कालोपत्रे भइसकेको र बाँकी पाँच किलोमिटर सडक पनि समयमै सम्पन्न हुने उनको दाबी छ । ‘अबको दुई/तीन हप्तामा बाँकी रहेको कालोपत्रे सडकको काम सुरु हुन्छ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *