दुई राजदूतको संयुक्त तस्बिरले किन रिसायो इरान ? यस्तो छ ऐतिहासिक कारण

काठमाडौँ । दुई राजदूत एक ठाउँ भेला हुनु । संयुक्त तस्बिर खिच्नु । सामाजिक संजालमा पोस्ट गर्नु । यो कुनै ठूलो कुरै होइन तर, इरानको राजधानी तेहरानमा रुसी राजदूत लेभेन धारार्यान र बेलायती राजदूत सिमोन सेरक्लिफले खिचेको तस्बिरले भने इरान ‘बिच्किएको’ छ ।
बुधबार रुसी राजदूतले पोस्ट गरेको तस्बिरमा दुई राजदूत बीचमा एक खाली कुर्सी पनि छ । इरान बिच्किनुको कारण यहि खाली कुर्सीसँग सम्बन्धित छ । त्यो तस्बिरले कति धेरै कूटनीतिक तनाव भएको छ भने इरानी परराष्ट्रमन्त्री महोमद जाभाद जरिफदेखि इरानी सञ्चारमाध्यम हुँदै धेरै नागरिकसमेत आक्रोशित भएका छन् । बिहीबार इरानले दुवै राजदूतलाई बोलाएर स्पष्टीकरण समेत सोधेको रेडियो फ्रि युरोपले उल्लेख गरेको छ ।
तस्बिरको कथा- सन १९४३ र दोश्रो विश्वयुद्धसँग जोडिन्छ । यहि स्थानमा सोभियत संघ, बेलायती र अमेरिकी उच्च नेताहरू भेला भएका थिए । भेला हुनेमा तत्कालिन सोभियत संघका नेता जोसेफ स्टालिन, बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिल र अमेरिकी राष्ट्रपति फ्रान्कलिन डि. रुजभेल्ट थिए । उनीहरुको गठबन्धन शक्तिले त्यहि भेलाबाट जर्मनीविरुद्ध युद्ध छेड्ने घोषणा गरेको थियो ।
त्यो बेलामा इरान सोभियत संघ र बेलायती कब्जामा थियो । पल्लबी वंशको शासनमा रहेको त्यो बेलाको इरानको तटस्थ नीति भएको अलजजिराले उल्लेख गरेको छ । इरानलाई फेरिपनि कब्जा गरेको अर्थ दिने वा पुरानो कुरा नियतवश सम्झाएको भन्दै इरान बिच्केको हो । रुसी दूतावासले भने इरानीलाई असर गर्ने अर्थमा तस्बिर पोस्ट नगरिएको स्पष्टोक्ति दिएको छ ।








