सबै वडा भवन परम्परागत शैलीमा बनाउछौँ : मेयर शाक्य

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वडा- १६ कार्यालय भवन शिलान्यास गरेका छन् । उक्त भवनको शिलान्यासपछि सम्बोधन गर्दै प्रमुख शाक्यले आफ्नो कार्यकालमा सबै वडाका वडा कार्यालय भवनको पुनर्निमाण र नयाँ निर्माणलाई सम्पन्न गर्ने प्रतिबद्धताअनुसार नै उक्त भवन शिलान्यास गरेको जानकारी दिएका छन् ।

‘हामी निर्वाचित भएर आएपछिको पहिलो बैठकमा काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालय र सबै वडाका कार्यालय भवनको पुनर्निमाण र नयाँ निर्माणलाई प्राथमिकतामा राखेर काम गर्छौ भनेर घोषणा गरेका थियौँ,’ शाक्यले भने, ‘वडा–१६ को भवनको आज शिलान्यास भयो । उद्घाटन हाम्रो यो कार्यकालमा हुँदैन ।’ तर, अहिले हामीले गरेका काम स्थानीय सरकारको जग हुन् ।

प्रमुख शाक्यले वडा- १६ को वडा भवन शिलान्यास घोषणाअनुसारकै कार्य भएको भन्दै यस अघि वडा- ३, ४, ९, १४, १८, २६ लगायतका वडा कार्यालयका भवनबाट सेवा सुरु भैरहेको जानकारी दिए । केही दिनअघि मात्रै मेयर शाक्यकै वडा- २१ को पनि वडा भवनको शिलान्यास गरिएको थियो । ‘केही कार्यालय भवनको निर्माण कार्य जारी छ । केही वडा कार्यालयको खरिद प्रक्रिया अघि बढेको छ,’ उनले भने, ‘वडा–१२ को पनि हामी केही दिनमै शिलान्यास गर्दै छौँ ।’

उनले केही वडा कार्यालय भवन भने कानुनी र प्राविधिक समस्याका कारण प्रक्रिया अघि बढ्न नसकेको जानकारी दिए । उनले मुद्दा परेका कारण महानगरपालिकाको केन्द्रीय कार्यालय भवन अहिलेसम्म निर्माण गर्न नसकेको पनि गुनासो गरेका छन् । सबै वडा भवन नेपाली परम्परागत शैलीको निर्माण हुने पनि प्रमुख शाक्यले जानकारी दिए । ‘हामीले जिम्मेवारी सम्हाल्नुअघिसम्म अधिकांश वडा कार्यालय भवनबाट सेवाग्राहीलाई सहज सेवा प्रदान गर्न समस्या हुने गरेको थियो,’ उनले भने, ‘अब सबै वडालाई समयानुकूल विकास गर्दै लैजान्छौँ । वडा भवन निर्माण गर्दा मौलिकता झल्किने र बाहिरी स्वरुप एकै खालको हुनेगरी निर्माण गरिरहेका छौँ ।’

कार्यालयको डिजाइन गर्दा आजभन्दा १० वर्ष पछिको अवस्थालाई आकलन गरिएको काठमाडौँ महानगरपालिका इञ्जिनियर प्रेमबहादुर श्रेष्ठले जानकारी दिए । ‘हामी वडाको सेवा कुनै पनि कारणले नरोकिने संरचना बनाउँदैछौँ,’ इञ्जिनियर श्रेष्ठले भने, ‘बेसमेन्टसहित भवन १० हजार ७०३ बर्गफुट क्षेत्रफलको हुनेछ । भवनको भूमिगत तलामा १० वटा चारपाङ्ग्रे सवारी पार्किङ् गर्ने क्षमता हुनेछ । ६ जना व्यक्ति अट्ने क्षमताको लिफ्टसहितको भवन अपाङ्गमैत्री हुनेछ ।’

उनकाअनुसार भवन बाहिरबाट हेर्दा नेपाली परम्परागत शैलीको हुनेछ भने भित्र आधुनिक सुविधा हुनेछन् । भवनको जमिन तलामा सहरी स्वास्थ्य क्लिनिक र दर्ता चलानी कक्ष हुनेछ । पहिलो तलामा वडाध्यक्ष, वडा सदस्यहरु र वडा सचिवको कक्ष रहनेछ । दोस्रो तलामा प्रशासनिक कक्ष तेस्रो तलामा प्रमुखको बैठक र कार्यालय कोठा हुनेछ । भवनमा सुविधा सम्पन्न बैठक कक्ष हुनेछ ।

१ रोपनी ४ आना २ पैसा जमिनमा निर्माण हुने भवनको बाहिरी भागमा मोटरसाइकल पार्किङ् गर्ने ठाउँ र हरियाली हुनेछ । महानगरपालिकाले दिएको जानकारी अनुसार वडा–९ र १८ को भवन उद्घाटन भै सेवा प्रवाह सुरु भैसकेको छ । ‘वडा–३, ४ र २६ को पनि उद्घाटन भैसकेको छ,’ शाक्यले भने, ‘वडा– १४ को गृह प्रवेश भैसकेको छ ।’

काठमाडौँ महानगरपालिकाका इन्जिनियर प्रेमबहादुर श्रेष्ठले दिएको जानकारी अनुसार वडा–२, ६, १२, २०, २१, २२, २९ र ३१ निर्माण प्रक्रियामा छन्,’ श्रेष्ठले भने, ‘वडा–१२ को पनि प्रक्रिया अघि बढेका छ । अन्य वडा भवनको स्तरोन्नती गर्नेलगायतका प्रक्रिया अघि बढेका छन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *