पैसा लिएर जुवाडे भगाएको आरोपमा पाँच प्रहरी निलम्बित

धनगढी । रकम असुलेर जुवाखालबाटै जुवाडे भगाएको आरोप लागेपछि कैलालीका पाँच जना प्रहरी निलम्बित भएका छन् ।

धनगढी उपमहानगरपालिका वडा नम्बर–३ मिलनचौकस्थित एएफसी होटलमा छापा हानेर रकम असुल्दै जुवाडे भगाएको आरोप लागेपछि पाँच प्रहरीलाई निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ प्रहरी उपरीक्षक बिक्रमबहादुर चन्दले जानकारी दिए । उक्त प्रकरणबारे छानबिनका लागि प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डेयको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो ।

सोही छानबिन समितिको सिफारिसमा पाँच जनालाई निलम्बन गरिएको प्रहरी प्रवक्ता चन्दले जानकारी दिए । उनका अनुसार प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार नैनचन्द्र धामी, प्रहरी जवान एकेन्द्र खड्का र प्रेमसिंह धामी, जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी जवान कृष्णप्रसाद जैसी र रामसिंह कुवँरलाई निलम्बन गरिएको छ ।

घटनाबारे थप अनुसन्धानका लागि उनीहरुलाई निलम्बन गरिएको उनले बताए । उनका अनुसार उनीहरुमाथिको आरोप भने अझै पुष्टि भएको छैन । कैलाली प्रहरीले यसअघि जुवा खालबाट भागेका तीन जना जुवाडेसहित जुवा खेलाउने होटल सञ्चालकलाई पक्राउ गरेर सार्वजनिक गरेको थियो । प्रहरीले जुवा खालबाट ८५ हजार रुपैयाँ बरामद गरेको र जुवाडेलाई भगाएर रकम असुल गरेको आरोप लागेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *