टेलिकमको एफटीटीएच सेवा पौने दुईलाख ग्राहकलाई वितरण

काठमाडौँ । नेपाल टेलिकमले एउटै फाइबरबाट टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध गराउन सकिने एफटीटीएच (फाइबर टु द होम) सेवा ५४ जिल्लाका कुल एक लाख ७२ हजार भन्दा बढी ग्राहकलाई वितरण गरिसकेको जनाएको छ ।

टेलिकमले २०७५ सालमा १ हजार ७ सय ३८ ग्राहकलाई मात्र यो सेवा उपलब्ध भएकोमा २०७६ मा ३० हजार ८ सय ७९ ग्राहकलाई र २०७७ मा १ लाख ७ हजार ७ सय १ ग्राहकलाई यो सेवा उपलब्ध भएको थियो ।

यसैगरी वैशाख, जेठ, असार र साउनको २८ गतेसम्म करीब ४ महिनामा ५४ हजार ८ सयभन्दा बढीलाई यो सेवा उपलब्ध गराइएको टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमले एफटीटीएच सेवाअन्तर्गत मुख्यतः भ्वाइस र डाटा सेवामात्र उपलब्ध गराइरहेकोमा गत २०७७ पुस १७ देखि एनटी टिभी ब्रान्डमा आईपी टीभी सेवासमेत उपलब्ध गराइरहेको जनाएको छ ।

शुरुमा काठमाडौँ उपत्यका र बनेपामा मात्र उपलब्ध गराइएको एनटी टिभी सेवा हाल भरतपुर, हेटौँडा, लाहान, टाँडी, धुलिखेल, नगरकोट, पोखरा, सौराहा, बुटबल, बर्दघाट, बागलुङ्ग, तौलिहवा, सन्धिखर्क, भैरहवा, पाल्पा, सिसुवा, तम्घास, दमौली, धादिङ, परासी, मंगलापुर र सिराहालगायत स्थानमा पनि विस्तार भइसकेको छ ।

मूलतः उच्च गतिको भरपर्दो इन्टरनेट सेवाका लागि उपयोग भइरहेको एफटीटीएच सेवाले भ्वाइस टेलिफोनका लागि तामाको तारको विकल्पको रुपमा फाइबर उपलब्ध गरेको छ भने सोही फाइबरबाट टेलिभिजन सेवा पनि उपलब्ध भए पश्चात ट्रिपल प्लेको अवधारणा कार्यान्वयन भएको टेलिकमले जनाएको छ ।

यस आर्थिक वर्षमा मुलुकभरका ६५ जिल्लामा एफटीटीएच सेवाको विस्तार गर्ने कम्पनीको योजना रहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *