भोजराज घिमिरेको ‘इन्द्रमाया’ सार्वजनिक

काठमाडौँ ।  साहित्यकार एवं पूर्वमुख्यसचिव तथा पूर्वराजदूत भोजराज घिमिरेको उपन्यास ‘इन्द्रमाया’ सार्वजनिक गरिएको छ ।  उपन्यास नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले बिहीबार भर्चुअल माध्यमबाट सार्वजनिक गरेका हुन् ।

उपन्यास विमोचन गर्दै कुलपति गंगाप्रसाद उप्रेतीले लामो समय सरकारी सेवामा बिताएर निवृत्त भएको एउटा व्यक्तित्वले अवकासपछिको सम्पूर्ण ऊर्जा र समय साहित्यमा लगानी गर्नु उदाहरणीय भएको बताए । कुलपति उप्रेतीले भोजराज घिमिरेको अध्ययन, अनुसन्धान गर्ने जाँगर र परिमार्जन अनि परिष्कार गरिरहने स्वभावले नेपाली साहित्यमा नयाँ कृति आइरहने बताए।

साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको चर्चित उपन्यास ‘तीन घुम्ती’की प्रमुख पात्र इन्द्रमायालाई केन्द्रमा राखेर लेखिएको ‘इन्द्रमाया’ उपन्यासमाथि समालोचकद्वय साधना प्रतीक्षा र महेश पौड्यालले टिप्पणी गरेका थिए । समीक्षक साधनाले बीपी कोइरालाको उपन्यासकी एक विद्रोही र सचेत पात्र इन्द्रमायालाई भोजराज घिमिरेले पुनः सशक्त जीवन दिएको बताइन् ।

समीक्षक पौड्यालले इन्द्रमायामा बीपीकी प्रिय पात्र इन्द्रमायालाई भोजराज घिमिरेले अत्यन्तै न्याय गरेको बताए ।

गीतकार, कवि तथा पूर्वमुख्यसचिव डा. विमल कोइरालाले बीपीका कृतिलाई पर्गेलेर बीपीका पात्रहरूलाई टिपेर सुन्दर शिल्पमा सरल ढंगले लेख्न सक्नु घिमिरेको विशेष खुबी भएको बताए ।

समीक्षक तथा पुस्तक ‘इन्द्रमाया’का सम्पादक घनेन्द्र ओझाले लामो समय सरकारी सेवामा बिताएर उच्च प्रशासक र कुशल कूटनीतिज्ञका रूपमा सफल भोजराज घिमिरे अवकासपछि पूर्णकालीन लेखक भएका र उनका हरेक वर्षजसो नयाँ कृति आइरहेका उल्लेख गरे ।

साहित्यकार एलबी क्षत्रीले ऐतिहासिक पात्र र कथनको नयाँ निर्माण रोचक र जानकारीमूलकका साथै जीवन्त हुने धारणा राखे ।

उपन्यासकार घिमिरेले आफ्नो रुचि र समय कटाउने सबै कुरा अहिले लेखन नै भएको उल्लेख गर्दै कविताबाट गीत, गजल हुँदै अहिले आख्यानमा सक्रिय रहेको बताए ।

शिखा बुक्सले प्रकाशन गरेको इन्द्रमायाको मूल्य ४९९ रुपैयाँ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *