शाही र वलीमाथि थाल्यो एमालेले कारबाही

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) लुम्बिनी प्रदेशले आफ्ना दुई सांसदमाथि कारबाहीको प्रक्रिया अघि बढाएको छ । चारदलीय गठबन्धनलाई सघाउँदै मन्त्री बनेका सांसद अजय शाहीलाई कारबाहीका लागि २४ घन्टे स्पष्टीकरण सोधिएको छ भने विमलाकुमारी वलीलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले पठाएको स्पष्टीकरणपत्र यसअघि नै बुझाइसकिएको सचेतक भूमिश्वर ढकालले बताए । ‘अजय शाहीजीलाई स्पष्टीकरण सोधिएको छ भने विमलाकुमारी वलीजीलाई पार्टी अध्यक्षकै स्पष्टीकरण बुझाइसकिएको छ ।’

एमालेले बहिस्कार गर्ने भनेको प्रदेश सभाको विशेष अधिवेशनमा उपस्थित शाही चारदलीय गठबन्धनको सरकारमा बिनाविभागीय मन्त्री बनेका छन् । नवलपरासी पश्चिम–१ ‘ख’ बाट सूर्य चिन्हबाट चुनाव जितेका शाहीले वैशाख १९ गते मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेर अर्को दिन फिर्ता लिएका थिए । उनीसँगै विपक्षी गठबन्धनमा लागेका कपिलवस्तुका धर्मबहादुरलाल श्रीवास्तव एमाले फर्केर मन्त्री बनेपछि शाही असन्तुष्ट रहेका थिए ।

हृदयेश त्रिपाठीनिकट शाहीले आफू सूर्य चिन्हबाट चुनाव लडेपनि स्वतन्त्र सांसद रहेकाले गठबन्धनमा सहभागी भएको बताउँदै आएका छन् । शाहीले बिहीबार नै भनेका थिए— ‘सूर्य चिन्हबाट चुनाव जितेपनि म स्वतन्त्र सांसद हो, त्यसैले मैले गठबन्धनलाई समर्थन गरेको हुँ । मलाई कसैले कारबाही गर्ने कुरै हुँदैछ । कारबाही आएमा स्वतन्त्र सांसदको हैसियतले अदालत जान्छु ।’

वलीले भने तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटेपछि माओवादी केन्द्र रोजेका थिए । त्यसपछि बीचमा एमालेमै फर्किएको बताएपनि वलीले कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउन समर्थन गरेका थिए । ‘उहाँ (वली)लाई कारबाहीको पत्र केन्द्रबाट आउँदैछ । कारबाही गर्दैछौँ,’ सचेतक ढकालले भनेका छन् ।

प्रदेशमा बिहीबार केन्द्रीय गठबन्धनअनुसारको सरकार बनेको छ । माओवादी केन्द्र लुम्बिनी प्रदेशका संसदीय दलका नेता कुलप्रसाद केसीको नेतृत्वमा गठन भएको सरकारमा शाही बिनाविभागीय मन्त्री बनिसकेका छन् भने वलीसमेत मन्त्री बन्ने श्रोतले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *