फोनिज १ नम्बर प्रदेश समितिद्वारा १० लाखको अक्षयकोषको घोषणा

मोरङ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेश समितिले आदिवासी जनजातिको मुद्धामा कलम चलाउने पत्रकारलाई सम्मान गर्ने उदेश्यले १० लाखको अक्षयकोष स्थापना गर्ने घोषणा गरेको छ । फोनिज १ नम्बर प्रदेश समितिले उत्पीडित आदिवासी समुदायको भाषा, लिपी, संस्कृति, सीप, आर्थिक जीवनलगायत बारे समाचार उत्पादन तथा प्रकाशन-प्रसारण गर्ने पत्रकारलाई बार्षिक रुपमा सम्मान गर्न १० लाख राशिको ‘आदिवासी कलम सम्मान अक्षयकोष’ स्थापना गर्ने घोषणा भएको हो ।

फोनिजको साउन २७ गते २२ औं स्थापना दिवस हो । सोही अवसरमा बिहीबार भर्चुअल माध्यमबाट आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अक्षयकोष घोषणा भएको हो । प्रदेश समितिले प्रस्ताव गरेको कार्यक्रममा फोनिज संघीय सचिव कमन देवानले २० हजार, प्रदेश समिति अध्यक्ष अर्जुन जम्नेली राईले १० हजार, उपाध्यक्ष भूमिका फियाक लिम्बू, महासचिव बिदुर खवास, कोषाध्यक्ष शुसन राईले पाँच, पाँच हजारको दरले अक्षयकोषमा रकम जम्मा गर्ने घोषणा भएसँगै ४५ हजारको प्रतिवद्धता व्यक्त भएको हो । कोषमा संघीय संगठन सचिव मिलन लिम्बू, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य भीषण राई, १ नम्बर प्रदेश समिति उपाध्यक्ष हिमाकुमारी चेम्जोङ लिम्बू, संघीय प्रेस मञ्च नेपालका केन्द्रीय अध्यक्ष दिलकुमार लावति, फोनिज इलाम जिल्ला अध्यक्ष राम योङहाङ, मोरङ जिल्ला अध्यक्ष दिनेश सुब्बालगायतले अक्षयकोष पूरा गर्न रकम जम्मा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

आदिवासी जनजाति समुदायको समृद्धि चाहने व्यक्ति तथा संस्थाहरुसँग सहकार्य गर्दै अक्षयकोष पूरा गर्ने प्रदेश अध्यक्ष अर्जुन जम्नेली राईले बताए । शुभकामना आदानप्रदान कार्यक्रमको प्रमुख अतिथि फोनिजका संघीय अध्यक्ष डण्ड गुरुङ, केन्द्रीय सचिवहरु, १ नम्बर प्रदेश इन्चार्ज दिपिन राई, प्रदेश सल्लाहकार संयोजक जनकऋषि राईलगायतका अतिथिहरुले शुभकामना दिएका थिए । शुभकामना दिने क्रममा संगठनका केन्द्रीय अध्यक्ष डण्ड गुरुङले नेपालका आदिबासी जनजातिहरुलाई सामाजिक, सांस्कृतिक, राजनीतिक रुपमा एकपछि अर्को सफलता मिल्दै गएको बताए । नेपालमा समानुपातिक, समावेशी राज्य व्यवस्था कायम गर्न आदिवासी पत्रकारहरुले निरन्तर कलम चलाउनु पर्ने अध्यक्ष गुरुङको भनाइ थियो ।

गुरुङले संगठनको स्थापना कालको स्मरण गर्दै हाल स्थापित केही पत्रकारहरु आदिबासी जनजाति पत्रकारमा संगठित हुन प्रस्ताव गर्दा भाग्ने, वचन लाउनेहरु अहिले आएर फोनिजसँग नजिक हुन, जोडिन तीव्र चाहना राख्ने अवस्था आएको बताए । फोनिज १ नम्बर प्रदेश समितिले नेपाल पत्रकार महासंघको निर्वाचनलाई मध्यनजर गर्दै गत फागुन २१ र २२ गते सुनसरीको रामधुनीमा प्रदेश भेला गरेका थिए । उक्त भेलाको उपलब्धीको चर्चा तथा फोनिज संघीय समितिद्वारा आवार्डेड (सम्मानित) पत्रकारहरु, पत्रकार महासंघमा प्रदेश, जिल्ला समितिमा निर्वाचित पदाधिकारी, सदस्यहरुलाई, फोनिज प्रदेशले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + thirteen =