लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा केसी नियुक्त

को हुन् कुलप्रसाद ?

काठमाडौं । लुम्बिनी प्रदेश माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । ‘उहाँ (कुलप्रसाद केसी) मुख्यमन्त्री नियुक्त भइसक्नुभयो,’ कांग्रेस सांसद फखरुद्धिन खानले मकालुखबरसँग भने, ‘उहाँको शपथको तयारी भइरहेको छ ।’

नेपाल कम्युनिष्ट पार्टी (एमाले) लुम्बिनी प्रदेशका संसदीय दलका नेता शंकर पोखरेलले बुधबार (हिजो) पदबाट राजीनामा दिएपछि केसीले आज ४२ जना प्रदेश सभा सदस्यहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए । गठबन्धनका मुख्य घटक कांग्रेस र माओवादीबीच आठ–आठ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।

प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुई भन्दा बढी दलको बहुमत पुर्याएर दाबी पेश गर्न २४ घण्टाको समय दिएका थिए । गठबन्धनमा नेपाली कांगेसका १९, माओवादी केन्द्रका १८, जसपाका ३, जनमोर्चाका १ र १ स्वतन्त्र जना गरी ४२ जना सांसद छन् ।

सानो मन्त्रिमण्डल आजै गठन हुँदै

नेता खानकाअनुसार बढीमा ५ जनाको मन्त्रिमण्डल आजै गठन हुँदैछ । ‘सानो मन्त्रिमण्डल आजै बन्छ, खानले भनेका छन्, ‘तयारी हुँदैछ ।’ आजै अपराह्न शपथ ग्रहणको कार्यक्रमसमेत रहेको खानले बताएका छन् । माओवादीबाट १ जना, कांग्रेसबाट १ जना र जसपाबाट सहश्राम यादव मन्त्री बन्दैछन् ।

गठबन्धनमा हृदयेश त्रिपाठी समूहबाट सूर्य चुनाव चिन्ह लिएर जितेका सांसद अजय शाहीसमेत गठबन्धनमा मिसिएका छन् ।

को हुन् कुलप्रसाद ?

केसी तत्कालीन माओवादी केन्द्रले सशस्त्र विद्रोह संचालनार्थ गठन गरेको जनमुक्ति सेनाका डिभिजन कमिसार थिए । एमाले–माओवादीको एकताबाट बनेको नेकपामा उनी केन्द्रीय सदस्य र संसदीय दलको उपनेता थिए ।

नेकपा (मसाल)को विद्यार्थी संगठनबाट राजनीति थालेका रोल्पा लिवाङका केसी ०५९ सालमा माओवादीबाट फुटेको मोहन वैद्यको पार्टीमा लागेका थिए । ०७३ मा प्रचण्ड नेतृत्वको माओवादीमा फर्किएर प्रत्यक्षतर्फ रोल्पा १ बाट निर्वाचित भएका उनी शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानूनमन्त्री थिए ।

नेकपा विभाजनपछि गण्डकी प्रदेशमा नेपाली कांग्रेस र लुम्बिनीमा नेकपा (माओवादी केन्द्र)ले मुख्यमन्त्री पाउने सहमति भएअनुसार ५१ वर्षीय केसीलाई लुम्बिनीका चार दलले मुख्यमन्त्री प्रस्ताव गरेका थिए ।

प्रवीणता प्रमाणपत्र तहसम्म अध्ययन गरेर ०४८ देखि ०५० सम्म शिक्षण पेशामा आवद्ध उनी ०५० देखि ०५२ सम्म नेकपा (एकता केन्द्र) को रोल्पा इलाका सेक्रेटरी थिए । ०५५ सालमा माओवादीमा लागेका उनी एक वर्ष दाङ, सल्यान र प्युठानको संयुक्त सेक्रेटरी रहे ।

०५६ मा पार्टीको भेरी–कर्णाली क्षेत्रीय ब्यूरो सदस्यमा बढुवा भएका उनी ०५७ मा जनमुक्ति सेनाको कम्पनी कमिसार र पार्टीको केन्द्रीय सदस्य बने । ०५९ सालदेखि पोलिटब्यूरो सदस्य र बागमती–नारायणी ब्यूरो इन्चार्जको भूमिकामा रहेका केसी ०६० मा भारतको पटनाबाट गिरफ्तार भए र ०६३ मा रिहा भए ।

२०६३ देखि ६८ सालसम्मको अवधिमा उनी जनमुक्ति सेनाको तेस्रो डिभिजन कमिसारका साथै विभिन्न ब्यूरो इन्चार्ज रहे । त्यसपछि पार्टीको युवा दस्ता योङ कम्युनिष्ट लिग (वाईसीएल) इन्चार्ज बने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *