लाइसेन्सको परीक्षा भदौमा पनि नखुल्ने, १३ लाख जना कुरेको कुर्‍यै

काठमाडौं । सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स)का लागि लिइने परीक्षा भदौमा पनि नखुल्ने भएको छ ।

यसअघि यातायात व्यवस्था विभागले १ भदौदेखि लाइसेन्सका लागि लिइने लिखित तथा प्रयोगात्मक परीक्षा र परीक्षाका लागि आवेदन खाेल्ने तयारी गरेको थियो । त्यसै अनुसार लाइसेन्सको परीक्षा खुल्ने आशामा झण्डै ६ लाख आवेदकले परीक्षाको तयारी गरिरहेका थिए । तर, पछिल्लो समय कोभिड–१९ को नयाँ संक्रमण तीव्र रुपमा फैलिएकोले भदौमा पनि परीक्षा सञ्चालन गर्ने नसकिने अवस्था रहेको विभागका महानिर्देशक नमराज घिमिरेले बताए ।

‘संक्रमण तीव्र रुपमा फैलिरहेको छ, विद्यालय, कलेज र मानिस भिड हुने ठाउँहरुको सेवा बन्द गर्दै निषेधाज्ञालाई कडा गर्ने नीतिमा सरकार अघि बढेको छ,’ उनले भने, ‘यस्तो बेला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को अनुमति बिना हामी परीक्षा सञ्चालन गर्न सक्दैनौं । सीसीएमसीको अनुमति पाएनौं ।’

सवारी चालक अनुमति पत्र लिनका लागि प्रत्येक वर्ष ६ लाख भन्दा बढी युवा तयार हुने गरेका छन् । १८ वर्ष उमेर पुगेपछि लाइसेन्स लिन पाउने व्यवस्था छ । तर, नियमित रूपमा परीक्षा सञ्चालन हुन नपाउँदा लाइसेन्सका प्रतिक्षार्थीहरू बढ्दै गएका छन् ।

निषेधाज्ञाअघि नै करिब ६ लाख जनाले लाइसेन्स परीक्षाका लागि आवेदन दिएका छन् । झण्डै ७ लाख जना लाइसेन्स लिनका लागि आवेदन दिन तयार भएको बसेको विभागको अनुमान छ । यसआधारमा हाल देशभर झण्डै १३ लाखले नयाँ लाइसेन्स लिन प्रतिक्षा गरिरहेका छन् ।

त्यस्तै, सरकारले स्मार्ट लाइसेन्स वितरण सुरु गरेपछि २० लाख जनाले स्मार्ट लाइसेन्स लिएका छन् । ७ लाख जनाले स्मार्ट लाइसेन्सका लागि आवेदन दिएको भए पनि पाउन सकेका छैनन् । लाइसेन्स छपाइ र वितरण प्रक्रियामा ढिलाइ हुँदा स्मार्ट लाइसेन्सका लागि सवारी चालकहरुले लामो समय कुर्नु पर्ने भएको हो ।

यस आधारमा हाल देशभर २७ लाख जनाले लाइसेन्सको परीक्षा उत्तीर्ण गरी लाइसेन्स लिएका छन् । भने १३ लाख लाइसेन्स लिने प्रतिक्षामा छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *