श्री लुनकरणदास–गंगादेवी चौधरी च्यारिटी अस्पताल पुनः सञ्चालनमा आउने

सुनसरी । सुनसरीको दुहबीमा संचालित श्री लुनकरणदास-गंगादेवी चौधरी च्यारिटी अस्पताललाई स्तरोन्नति गरी पुनः संचालनमा ल्याइने भएको छ ।

काठमाडौँको थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटल र बसन्त चौधरी फाउन्डेसनले संयुक्त रुपमा ५ करोड रुपैयाँ लगानी गरी करिब साढे ३ वर्षदेखि बन्दप्रायः रहेको सो अस्पताललाई स्तरोन्नति गर्दै पुनः सञ्चालनमा ल्याउने भएका हुन् ।

बन्द हुनुअघिसम्म १५ शय्या क्षमतामा सञ्चालनमा रहेको अस्पतालको स्तरोन्नति गरी ५० शय्या बनाइनेछ । सो च्यारिटी अस्पताल नवीनतम प्रविधि र मेडिकल उपकरणले सुसज्जित हुनेछ ।

सो अस्पताललाई नर्भिकले दक्ष जनशक्तिका साथै विशेषज्ञ सेवासमेत उपलब्ध गराउनेछ । अस्पतालको सम्पूर्ण प्राविधिक पक्ष नर्भिकले हेर्नेछ भने आर्थिक सहयोग बसन्त चौधरी फाउन्डेसनले जुटाउने बताइएको छ ।

नर्भिक इन्टरनेसनल हस्पिटलका संरक्षक चौधरीले दुहबीको सो अस्पतालमा नर्भिकको प्रविधि, जनशक्ति तथा अनुभवसमेत प्रयोग गरी पूर्वी नेपालका सर्वसाधारणलाई न्यूनदरमा स्वास्थ्य सेवा उपलब्ध गराइने योजना रहेको बताए ।

‘हामीले सो अस्पताललाई पुनर्जीवन दिनका लागि ३ करोड रुपैयाँ बराबरको लगानी पूर्वाधार विकासमा गर्नेछौँ,’ अध्यक्ष चौधरीले भने‚ ‘२ करोड रुपैयाँ बराबरको स्वास्थ्य उपकरण उपलब्ध गराउनेछौँ ।’

करिब ८ हजार वर्गफिटको नयाँ संरचनासहित मुटुरोग/प्रसूति सेवालगायतका शल्यक्रियाका लागि अत्याधुनिक अप्रेसन थिएटर, अत्याधुनिक उपकरणजडित आइसीयूलगायतका संरचना निर्माण गरी अस्पताल पुनः सञ्चालन हुने अस्पतालले जनाएको छ ।

सो अस्पतालमा डायलासिस सेवासमेत उपलब्ध हुने बताइएको छ ।

अस्पतालमा चौबिसै घण्टा स्तरीय आकस्मिक सेवासमेत उपलब्ध हुनेछ । अस्पतालमा ७५ जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् । आगामी वैशाख १ गते पर्ने नर्भिक अस्पतालको स्थापना दिवसको अवसर पारेर सो च्यारिटी अस्पतालको सम्पूर्ण सेवाको सुरुवात हुनेछ ।

चौधरीका पितामाताको नाममा स्थापित सो अस्पतालको शिलान्यास २०५२ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गरेका थिए ।

तत्कालीन गाविसले च्यारिटी अस्पताल चलाउनका लागि १० कठ्ठा जग्गा उपलब्ध गराएको थियो भने अस्पताल निर्माणमा लाग्ने सबै खर्च चौधरीले व्यहोरेका थिए ।

सो बेला समेत दुहबी-विराटनगर औद्योगिक करिडोरमा २०० बढी उद्योगहरू संचालनमा रहेका थिए । कुनै औद्योगिक दुर्घटना हुँदा वा उद्योगमा काम गर्ने कुनै मजदूर वा श्रमिक अचानक बिरामी पर्दा उपचार गर्न विराटनगर नै पुग्नुपर्ने बाध्यता थियो।

त्यस्तो बाध्यता अन्तको उद्देश्यले त्यसबेला च्यारिटी अस्पताल स्थापना गरिएको थियो । नर्भिकले यसै वर्षदेखि सुनसरीको दुहबीमै १०० शैय्याको अत्याधुनिक छुट्टै अस्पतालनको निर्माण कार्य समेत सुरु गर्ने यसअघि नै घोषणा भइसकेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 5 =