लुम्बिनीमा सानो मन्त्रिमण्डल आजै बन्ने, को-को बन्लान् मन्त्री

काठमाडौं । लुम्बिनी प्रदेशमा बिहीबार (आज) नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेशको संसदीय दलका नेता कुलप्रसाद केसी ‘सोनाम’को नेतृत्वमा नयाँ सरकार बन्दैछ । सरकारमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) पनि सहभागी हुँदैछन् । सरकार बनाउन सघाएको राष्ट्रिय जनमोर्चा भने सरकारमा सहभागी हुने छैन । उसले बाहिरै बसेर गुण वा दोषको आधारमा सरकारलाई समर्थन गर्ने जनाएको छ ।

विपक्षी गठबन्धनका नेताहरु सरकार गठनका लागि तयारी गरिरहेका छन् । ‘प्रदेश प्रमुखज्यूले तोक्नुभएको समयसीमाभित्र सरकार गठन गर्नेगरी हामी तयारीमा जुटिरहेका छौँ,’ नेपाली कांग्रेस लुम्बिनी प्रदेशका संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले मकालुखबरसँग भने, ‘आजै सानो आकारको मन्त्रिमण्डलसमेत गठन हुन्छ ।’

श्रोतकाअनुसार लुम्बिनीमा आज बढीमा ६ जनाको मन्त्रिमण्डल गठन हुनेछ । श्रोतले भनेको छ, ‘थप मन्त्रिमण्डल विस्तार चाहिँ विश्वासको मत लिएपछि मात्रै हुन्छ ।’ गठबन्धनमा भएको सहमतिअनुसार शुरुको ८ महिना माओवादी केन्द्र संसदीय दलका नेता केसी मुख्यमन्त्री बन्नेछन् भने त्यसउता कांग्रेस संसदीय दलका नेता कनौडिया मुख्यमन्त्री बन्नेछन् ।

सम्भावित मन्त्रीहरु

माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका एक सदस्यकाअनुसार आज विस्तार हुने मन्त्रिमण्डलमा माओवादीको तर्फबाट एकजना मन्त्री बन्नेछन् । ‘हाम्रो तर्फबाट एकजना र कांग्रेसको तर्फबाट एकजना आजै मन्त्री बन्नुहुनेछ,’ ती सदस्यले मकालुखबरसँग भने, ‘नामबारे अहिले हामी छलफलमा छौँ सँगै सरकार गठनकै पक्रियामा हामी छौँ । भरै थाहा भइहाल्छ नि ।’

माओवादी केन्द्रको संसदीय दलको बैठक बिहान ११ बजेदेखि जारी छ । बैठकबाट आज मन्त्री बन्नेको नाम र भावी रणनीतिको बारेमा छलफल भइरहेको बैठकस्थलबाट ती सदस्यले बताएका छन् ।

यता नेपाली कांग्रेसको तर्फबाट मन्त्री बन्नसक्ने सूचीमा पाल्पाका वीरबहादुर राना, दाङका डिल्लीबहादुर चौधरीलगायतको नाम छन् । प्रदेशमा राना रामचन्द्र पौडेलनिकट हुन् भने चौधरी देउवा पक्षका हुन् । संसदीय दलका नेता कनौडियाले सरकार सन्तुलित बनाउने दाबी गरेका छन् ।

जसपाबाट भने तीनैजना मन्त्री बन्नेछन् । सरकारमा संसदीय दलका नेता कपिलवस्तुका सहसराम यादवको नेतृत्वमा बर्दियाकी सुमन शर्मा रायमाझी र पाल्पाकी पुर्मती ढेगा मन्त्री बन्नेछन् । नेतृ ढेगाले आफूहरु सबै मन्त्री बन्न लागेको स्वीकार्छिन् । ‘प्रदेश सरकारमा हामी पनि सामेल हुँदैछौँ,’ नेतृ ढेगाले मकालुखबरसँग भनिन्, ‘हामी तीनैजना सरकारमा जाँदैछौँ । यस्तै सहमति भएको छ ।’

रायमाझीले यसअघिको सरकारमा भौतिक पूर्वाधार विकास राज्य मन्त्रालयको जिम्मेवारी पाएकी थिइन् । उनले असार १८ गते राजीनामा दिएर पार्टीमा फर्केपछि सरकार अल्पमतमा परेको थियो ।

‘न्यूनतम साझा कार्यक्रम चाँडै बनाउँछौँ’

केन्द्रमा जस्तै प्रदेशमा पनि न्यूनतम साझा कार्यक्रम (राजनीतिक संयन्त्र) बन्ने कनौडियाले बताए । त्यसका लागि चाँडै कार्यदल बनाएर काम शुरु गर्ने पनि कनौडियाले बताए । ‘केन्द्रीय गठबन्धनअनुसारकै सरकार पनि हो,’ कनौडियाले भने, ‘अब हामी केन्द्रमा जस्तै न्यूनतम साझा कार्यक्र बनाउनेछौँ र त्यसले सरकारलाई चल्न सहज बनाउनेछ ।’

त्यहाँका मुख्यमन्त्री शंकर पोखरेलले बुधबार (आज) राजीनामा दिएपछि गठबन्धनको सरकार बन्ने पक्का भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *