विराटनगरका समस्या समाधानमा चासो देऊ

विराटनगर । ‘भ्रष्टाचारविरूद्धको नागरिक निगरानी संस्था’ले विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीलाई भेटेर समग्र समस्याको बारेमा ध्यानाकर्षण गराएको छ । विराटनरको विकास, निर्माण र जन सरोकारका विभिन्न जल्दावल्दा मुद्धाहरूलाई लिएर मेयर पराजुलीलाई ज्ञापन पत्र बुझाएको हो ।
शिक्षा, स्वास्थ्यमा जनताले भोग्नु परेको विविध समस्याहरू, कोभिडविरूद्धको खोप अभियानमा देखिएका अनियमिता तथा अपारदर्शिता र नगरपालिकाले गर्ने निर्माणलगायत अन्य विविध कार्यमा पारदर्शिताको बारेमा ध्यानाकर्षण गराईएको संस्थाका अध्यक्ष दिनेश श्रेष्ठले बताए । विराटनगर महानगरपालिकाले दिने सेवामा देखिएका ढिलासुस्ति तथा जनमैत्री व्यवहारको अभाव भएको पनि ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
त्यस्तै वीरेन्द्र सभागृहस्थित पार्कको सञ्चालन तथा व्यवस्थापनबारे पनि कार्यकारी अधिकृत तथा मेयरसँग छलफल भएको श्रेष्ठले जानकारी दिए । सन् २०१३देखि एसियाली विकास बैंकको ऋण सहयोगमा संचालित वहुउदेश्यीय वातावरणीय सुधार कार्यक्रम र त्यसलाई निरन्तरता दिँदै संचालित पुरक सहरी विकास परियोजनामा देखिएको समस्या र चुनौतीको बारेमा मेयरको ध्यानाकर्षण गराईएको थियो ।
विश्व बैंकको सहयोगमा संचालित कोशी राजमार्गबारे जनताका संसय, चासो तथा अन्य विविध मुद्धामा पनि मेयर तथा प्रमुख प्रशासकीय अधिकृतलाई अवगत गराउने कार्य गरिएको उनले बताएका छन् । ‘विराटनगरको समृदीसँग जोडिएको सहरी विकास र महानगर वरिपरिका बस्ती र त्यहाँको सामाजिक, आर्थिक जीवन÷कृयाकलापसंग प्रत्यक्ष सरोकार रहेको रिङ रोड निर्माणमा देखा परेको ढिलासुस्तिको बारेमा पनि ध्यानाकर्षण गराईएको छ,’ उनले भने, ‘स्थानीय सरकारको असंवेदनशीलताका बारेमा पनि छलफल भएको छ ।’
‘भ्रष्टाचारविरूद्धको नागरिक निगरानी संस्था’मा विराटनगरमा रहेका विज्ञ समूह छ । विराटनगरलाई कसरी राम्रो र नागरिकको जनअपेक्षा अनुसार बनाउन सकिन्छ भनेर यो समूहले निगरानी गर्ने र स्थानीय तहलाई सुझाव दिने काम गर्दै आएको छ । यो संस्था अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बनाएको नागरिक निगरानी संस्था हो । केही वर्षअघि नै बनेको यो संस्थाको अध्यक्षमा दिनेश श्रेष्ठ, उपाध्यक्षमा मोहन भण्डारी छन् । सचिवमा बसन्त अधिकारी, सहसचिव निर्मल तामाङ र कोषाध्यक्ष सीता शर्मा छन् । सदस्यमा उत्तम ढुंगेल, केशब गौतम, रामप्रसाद खतिवडा र मिना जोशी छन् ।









